राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न
- ९ भाद्र २०८१, आईतवार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यता र प्रतिष्ठान मोरङका कार्यबाहक अध्यक्ष सरोज आचार्यको अध्यक्षतामा शनिबार सुन्दरहरैचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा साधारणसभा भएको हो ।
मोरङको विभिन्न पालिकाका गायक गायिका, कलाकार तथा संस्कृतिबिदहरु समेतको सहभागितामा भएको साधारणसभामा संस्थाको मोरङ शाखाका काम कारबाही तथा गतिविधिहरुबारे जानकारी गराइएको थियो ।
साधारणसभामा प्रतिष्ठान कोशी प्रदेश संयोजक रोम घिमिरे, प्रदेश सचिव शुशिल भट्टराई, प्रदेश सदस्य अजय बन, प्रगतिशील लेखक संघ (प्रलेस) कोशी प्रदेशकी अध्यक्ष तिला लेकाली लगायतको विशेष आतिथ्यता तथा बेलबारी प्रज्ञा प्रतिष्ठानका सचिव कुलप्रसाद बराल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो । कार्यक्रममा महिला उपाध्यक्ष यमुना पराजुली र सदस्य लक्ष्मी आचार्यले अतिथिहरुलाइ स्वागत गरेका थिए भने सचिव रबिन बजगाइँले कार्यक्रम संचालन गरेका थिए ।
साधारणसभामा विभिन्न कलाकार तथा गायक गायिकाहरुले दोहोरीसहित गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । साधारणसभाले पोखरामा हुन गइरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रथम बिधान अधिवेशनका लागि प्रतिनिधि चयन जिल्ला कार्यसमितिलाइ जिम्मेवारी दिएको छ ।
साधारणसभाले यसअघि प्रथम उपाध्यक्ष रहेका सरोज आचार्यलाइ कार्यबाहक अध्यक्षमा चयन गरेको छ । साधारणसभाबाट प्रथम उपाध्यक्षमा अम्बिका भण्डारी तथा सदस्यमा गोबिन्द खड्का र लक्ष्मी कार्की चयन भएका छन् ।
केन्द्रिय समितिको निर्णय अनुसार शनिबार एकैदिन देशभर सबै जिल्लाका साधारणसभा सम्पन्न भएका छन् ।