बेलबारीमा प्रदेश आयोजना बैंक सम्बन्धी अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी

  • ५ चैत्र २०८१, बुधबार

आयोजना छनोट तथा आयोजना बैंक सम्बन्धी अभिमुखीकण र बार्षिक योजना तर्जुमा गोष्ठी बेलबारी नगरपालिकामा सम्पन्न भएको छ ।
प्रदेश योजना आयोग, बिराटनगरको संयोजन तथा कोशी प्रदेशका सबै मन्त्रालयहरुको सहकार्यमा भएको गोष्ठीमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ र ३ का प्रदेश सांसदहरु तथा उत्तरी मोरङका सबै पालिकाहरुको सहभागिता थियो ।
प्रदेश योजना आयोग, कोशी प्रदेश सदस्य डा. प्रमिला कुमारी गच्छदारको अध्यक्षतामा भएको कार्यक्रममा संबिधानसभा सदस्य रत्नादेवी (मधु) गुरुङ, प्रदेश सभा सदस्यहरु ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बु, खड्ग बहादुर बस्नेत, उमाकान्त गौतम, गिता तिम्सिना, विद्या चाम्लिङ राई र शोभा चेम्जोङको तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राइको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा बेलबारी नगरपालिका, पथरी शनिश्चरे, उर्लाबारी, सुन्दरहरैंचा, लेटाङ लगायतका नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु समेतको उपस्थिती थियो । कार्यक्रममा केराबारी, कानेपोखरी र मिक्लाजुङ गाउपालिकाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
बार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत बिदुर पौडेलले प्रदेशस्तरीय आयोजना छनौट तथा आयोजना बैंक सम्बन्धि प्रस्तुति दिएका थिए ।
प्रस्तुतिपछि पालिकाका प्रतिनिधि तथा प्रदेश सांसदहरु सम्मीलित अलग अलग समुहमा छलफल भएको थियो ।
सहभागीहरुले प्राय योजनाहरु आवश्यकताका आधारमा भन्दा पहुँचको आधारमा बिनियोजन गर्ने गरिएको, कला र संस्कृति संरक्षणमा ध्यान दिने नगरिएको, दैबी प्रकोपजस्ता क्षेत्रमा पर्याप्त बजेट नदिइने गरेको, छलफल तथा गोष्ठी औपचारिकतामा मात्रै सिमित हुने गरेको जस्ता समस्या रहेकोे बताएका थिए । ५० लाखभन्दा साना आयोजना स्थानीय तहलाई दिनुपर्ने सहभागीहरुले माग गरेका छन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाइँ, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य
तिलक प्रसाद राई, केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर, बेलबारी निबासी मनकुमार गुरुङ, पत्रकार केशु बिरही लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा सडक पुर्वाधार, दैवी प्रकोप, धार्मिक तथा सांस्कृतिक क्षेत्र, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा तटबन्ध , दैवी प्रकोप जस्ता क्षेत्रमा बिषयगत छलफल भएको थियो ।
प्रदेश सरकारले प्रदेशभरी पालिका तथा प्रदेश सांसदहरूको सहभागितामा आयोजनाहरु छनोटका लागि गोष्ठी तथा छलफल संचालन गरेको र सबैतिरबाट प्राप्त सुझावहरुलाइ एकीकृत गरेपछि सम्बन्धित मन्त्रालय हुँदै आयोजनाहरु आयोजना बैंकमा समेटिने कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत बिदुर पौडेलले जानकारी दिए ।