खेल शुरु गर्नुअघि नै आत्मविश्वासको हत्या गर्ने काम रोकिनुपर्छ : कुन्ती (अन्तरवार्ता)

  • १५ असार २०८२, आईतवार

कुन्ती (गुरुङ) राई

कराते प्रशिक्षक तथा रेफ्री

वहाँको खेल यात्रा तीन दशक लामो भइसकेको छ। खुल्ला सेतो पोसाक पहिरन गर्ने र प्रतिद्वन्द्वीलाई आफ्नो निडर साहस कलात्मक रूपमा प्रदर्शन गर्ने, यो वहाँको पहिचान नै बनेको छ ।
४७ वर्ष उमेरकी कुन्ती (गुरुङ) राई बेलबारी नगरपालिकामा सितोरियो कराते खेलको पर्यायवाची नै बन्नुभएको छ। शान्तिको प्रतीक सेतो रङले भरिएको ’गी’ को पहिरनमा आनन्दित हुने कुन्ती, प्रतिस्पर्धाको मैदानमा जहिले साहसको प्रतिबिम्ब बन्नुहुन्छ ।
वहाँ हजारौं प्रशिक्षार्थीहरूका गुरुआमा हुनुहुन्छ भने बेलबारी सितोरियो करातेको एक मात्र महिला अभिभावक । वहाँको दुई दशक लामो प्रशिक्षणको यात्रा अझै निरन्तर छ ।
कुन्ती (गुरुङ) राई भन्नुहुन्छ – “खेलक्षेत्रमा जीवन समर्पित छ, कराते मेरा लागि सामान्य रूपमा परिभाषित गरिने आत्मारक्षाको खेल मात्र हैन, यो मेरो आत्मसम्मान र जीवनको मेरुदण्ड पनि हो ।“
तपाई आफ्नो परिचय करारी दिनुहुन्छ ?
म एक खेलाडी हूँ, छोरी अनि आमा पनि हुँ । हजारौं प्रशिक्षार्थीहरूले गुरु भनेर मलाई सम्बोधन गर्दा हृदयले वास्तविक परिचय यही हो भन्ने गर्छ। खेलबाहेक अरू कुरा मेरा लागि सहायक हुन् ।
खेल के हो ?
मेरा लागि खेल विश्वास र आत्मसम्मान हो । मेरो जीवनको मेरुदण्ड हो खेल । अनुशासन, स्वास्थ्य र साहसको प्रतिबिम्बसँगै आत्मसम्मानसहित जिउने स्तम्भ हो ।
बेलबारीमा खेल विकास र उर्वरता कस्तो देख्नुहुन्छ ?
बेलबारी खेलको उर्वर नगर हो । सरकार र स्थानीयवासीले इंसक्षेत्रको सम्भावित उपलब्धीलाई बुझ्न सक्ने हो भने सोचेभन्दा माथि लग्न सकिन्छ । तर आम रूपमा खेलप्रतिको बुझाइ खेलाडीको भन्दा फरक रहेको छ ।
अधिकांश युवाहरू कुनै न कुनै खेलप्रति आकर्षित छन् तर अवसायिक खेलाडी बन्नबाट बञ्चित हुन्छन् । यसको प्रमुख कारण खेलप्रतिको बुझाइ हो । म आदिवासीको छोरी भएर पनि होला यस पीडाबाट अधिकांश आदिवासी युवाहरू पीडित भएको देख्छु । खेलक्षेत्रमा आदिवासी युवाहरूको आकर्षण र सहभागिता पनि बढिरहेको छ ।
बेलबारी डोजोको हाम्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बेसहरू खेलेर स्वर्ण पदक पनि ल्याउन सफल भएका छन् । त्यो सम्झदाँ बेलबारीवासी हुनुमा र खेलाडी हुनुमा गर्व लाग्छ तर त्यही खेलको तयारीका लागि प्रतियोगितामा सहभागिताका लागि भने स्रोतसाधनको अभावले जहिले पनि पिरोल्ने गर्छ ।
खेललाई व्यावसायिकताभन्दा बढी निःशुल्क गरिने सामाजिक सेवाझै एक मानवीय गतिविधिको रूपमा हेरिन्छ । तर खेलको विकासबिना नगरपालिकाको मात्र हैन देशको समृद्धि नै सम्भव छैन । युवाहरूले खेलक्षेत्रमा लामो समय विताउँछन् तर भविष्य देख्न नसक्दा वैदेशिक रोजगारीमा पलायन हुन्छन् । यसमा खेलाडीको केही कमजोरी हुन सक्छ तर सबैभन्दा प्रमुख सरकार जिम्मेवार छ । सरकारबाट खेलक्षेत्र र खेलाडीको संरक्षण हुन अनिवार्य छ भने समाजले खेल र खेलाडीलाई बुझ्न आवश्यक छ ।
तपाईको खेलयात्रा कसरी सुरु भयो ?
२०४७ सालमा बेलबारीमा पहिलो पटक उद्धवप्रसाद सापकोटा गुरुले सितोरियो करातेको प्रशिक्षण सुरु गर्नुभयो। त्यो वेला मैले खेलमा देखेको र जानेको सितोरियो कराते मात्र थियो। त्यही भएर म पनि प्रशिक्षणमा जान थालें। त्यस बेला, म १३ वर्षकी सानी केटी थिएँ। अझै पनि मलाई थाहा छ, म सबै केटाहरूसँग एक्लो केटी प्रशिक्षार्थी थिएँ।
साविकको बेलबारी गा.वि.स २, हालको बेलबारी नगरपालिकाको वडा नं. १ स्थित अमनासिसैली वनभित्र रहेको सानो खाली मैदानमा प्रशिक्षण हुन्थ्यो । त्यसपछि सोमबारे पशुहाटबजार, लोहोन्द्रापुलमुनिको चौरमा प्रशिक्षण गथ्यौं। कहिले विद्यालयको प्राङ्गण, कहिले किराँत राई यायोक्खाको धार्मिक वन हाम्रो खेल–प्रशिक्षणस्थल छ । नेतृत्वदेखि आश्वासनबाहेक अरू हामीले प्राप्त गर्न सकेका छैनौँ । आदिवासी युवा खेलाडीहरू आफ्नो बलबुतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन्छन् । विजयी भएर आउँछन् तर विजेता भएको पलबाहेक, अरू समय सपनामै सीमित हुनुपर्ने बाध्यता छ । आर्थिक अभाव त छदै छ संरक्षण गर्ने कोही पनि हुँदैन ।
के कति उपलब्धीहरू प्राप्त गर्नुभएको छ ?
मेरो प्रमुख उपलब्धी, मैले पहिचान पाएको छु । गर्वका साथ म सितोरियो करातेको एक प्रशिक्षक हुँ भनेर परिचय दिन आनन्द महसुस गर्छु ।
मोरङमा ५ औं डान प्राप्त गर्ने महिला प्रशिक्षक म एक जना मात्र हूँ। २०५१/०५२ सालमा वुमन सार्कस्तरीय अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ५५ केजीतर्फको स्वर्ण पदक विजेता भएको थिएँ । त्यो मेरा लागि अविस्मरणीय पल हो।
२०५३ सालमा तेस्रो राष्ट्रिय कराते प्रतियोगिताको टिम कुमुतेमा प्रथम भएको थिएँ भने २०५३ मै सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ५५ केजीतर्फको स्वर्ण पदक विजेता भएँ। प्रतियोगितामा नजर्मनी, थाइल्यान्ड, भारतलगायत देशका खेलाडीहरूको सहभागिता रहेको थियो। दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको स्वर्ण पदक विजेता भइरहँदा म १८ वर्ष मात्र पुगेकी थिएँ। त्यस बेलाको मेरो त्यो करातेमा प्राप्त उपलब्धी हासिल गर्ने सायद बेलबारीको पहिलो चेली हुँ भन्ने लाग्छ ।
२०५५ सालमा नेपालगन्जमा भएको वृहत् चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा ५३ केजीतर्फ प्रथम भएँ । आठौँ सार्क खेलका लागि छनोट हने सपना थियो तर अन्तिम चरणमा छनौटको असफलतासँगै मेरो सार्क खेल खेल्ने सपनाको अन्त्य भएको थियो । मलाई त्योभन्दा ठुलो पीडा अझै पनि केही लाग्दैन । अन्य आमन्त्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरूमा सहभागी भएर विजेता, उपविजेता भएको पलहरू त अनगिन्ती नै छन् ।
२०५४ सालमा राष्ट्रिय खेलकुद परिषद्द्‌वारा कराते प्रशिक्षकमा नियुक्ति भएँ भने राष्ट्रिय खेलकुद परिषद्को ५५ औं वार्षिकोत्सव २०७५ मा सम्मानित भएको पल अविस्मरणीय छ। २०६० सालमा नेपाल कराते महासङ्घको रेफ्री हुने अवसर प्राप्त गरें भने २०७४ सालमा एसियन कराते महासङ्घको रेफ्रीको लाइसेन्स पनि प्राप्त गरेको छु ।
२०६५ सालमा राष्ट्रिय खेलकुद परिषद्वारा आयोजित ५ औं राष्ट्रिय खेलकुद, छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/०७६ मा निर्णायकको भूमिका निर्वाह गरें।
सन् २०१७ मा श्रीलङ्कामा सम्पन्न साउथ एसियन कराते प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरें भने सन् २०१८ मा थाइल्यान्ड ओपन कराते टो च्याम्पियनसिप, एस. के.ए. इन्टरनेसनल कराते च्याम्पियनसिप सन् २०१९ मा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको थिएँ ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेल २०७६ सालमा निर्णायकको भूमिका निर्वाह गरें भने अनगिन्ती आमन्त्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी छु। वर्ल्ड कराते फेडेरेसनको रेफ्रीसम्म हुने मेरो उद्देश्य छ । मेरो कराते यात्रामा चुनौती र अवसर दुवै छन्, म प्रस्ट छु । चुनौतीहरूका बिच नै सपनालाई साकार पार्नेतर्फ सधैं अग्रसर भइरहने छु ।     बेलबारीका आदिबासी जनजाति पाइलाहरु .   साभार : संयन्त्र साप्ताहिक