नेपालका बैङ्कहरुकाे ८८ बर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन
- ३ कार्तिक २०८२, आईतवार
नेपालका बैङ्कहरुकाे ८८ बर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।
मोरङ पथरी निवासी खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले लेखेको सो पुस्तक प्रकाशित भएको हो । नेपालको बैङ्किङ इतिहास´ नामक पुस्तकमा राणाकालीन ब्यबस्थादेखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटिएको छ । पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुकाे चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पाैडेलसम्मकै १८ जना गभर्नरको फाेटाे सहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरकाे इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खाेल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाशचन्द्र लाेहनी सहितको इतिहास समेटिएको छ । त्यसैगरी पुस्तकमा नेपाली बैङ्ले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, विपत्तमा बैङ्ककाे सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्रा आदि खाेज गरी समेटिएको छ ।
पुस्तकमा बैंकहरुको स्थापना, समस्या ग्रस्त बैङ्कहरू, भाेजपुर टक्सारकाे इतिहास , पुर्वमा खुलेका बैङ्कहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारकाे क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ बटा विषय समेटिएका छन् । नेपाली बैङ्किङ इतिहास बुझ्न याे पुस्तक राम्रो सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष सन्तोष काेइरालाले बताएका छन् ।
स्रष्टा छापाखाना दमकले छापेको २७२ पेजकाे पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिकाे बिषयमा पनि खाेज गरी लेखिएको छ । लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खाेजमुलक पुस्तक लेखन गर्दै आएका छन् ।
तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) माेरङकाे सामुदायिक वन एक चिनारी (२०६९) माेरङकाे क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण (२०७८) धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) माेरङका जनप्रतिनिधि संङगालाे (२०७९) “माइखाेलादेखि पुनर्वाससम्म” (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दाेस्राे संस्करण (२०८१) रहेका छन् । पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीकाे इतिहास गाेरखा सम्मनै पुगेर गहन खाेज गरी लेखिएको थियोे भने नेपाली भाषी भुटानी शरणार्थीकाे कथा व्यथा समेटिएको कृति माईखाेलादेखि पुनर्वाससम्म, तराईका आदिवासी “धिमाल जातिको इतिहास´र ‘इतिहासमा पथरी शनिश्चरे´´ `जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म´ तिम्सिनाकाे चर्चित पुस्तकहरु हुन् ।









