जनप्रतिनिधि आएयता दोस्रो बर्षसम्म के के प्रगति गर्यो केराबारी गाउँपालिकाले ?

  • २५ भाद्र २०७५, सोमबार

अम्बिका भण्डारी / मोरङको केराबारी गाउँपालिकाले जन प्रतिनिधि निर्वाचित भएयता करिब डेढ बर्षे अबधिमा बिकास निर्माण लगायतका काममा उल्लेख्य प्रगति गरेको छ ।

स्थानीय निर्वाचनपछि जिल्लामै पहिलोपटक गाउँ परिषद गरेको गाउँपालिकाले चालू आर्थिक बर्षको अबधिमा केहि बहुबर्षे योजना अगाडि बढाएको छ । जस अन्तरगत तीनवटा सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भइसकेको छ ।

केराबारी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत डम्मरुबल्लभ बरालका अनुसार बेलबारी २ लालभित्तिको सिमानादेखि देवीझोडा सिरानसम्म करिब ५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि  ५ करोड बिनियोजन गरिएको छ । सो सडक पिच गर्नका लागि ठेक्का टुंगो लागिसकेको छ । त्यसैगरी बहुबर्षे योजना अन्तरगत नै केराबारी ६ को अमृत चोकदेखि मुगु जोड्ने सडक कालोपत्रे गर्न पनि टेण्डर स्वीकृत भइसकेको  छ । सो सडकका लागि ५५ लाख बजेट बिनियोजन गरिएको थियो  । त्यसैगरी केराबारी ६ कै बगैंचादेखि वडा नम्बर ५ मा पर्ने प्रगति चोक जोड्ने सडक पिचका लागि बिनियोजित १ करोड ११ लाखको योजना पनि अगाडि बढिसकेको छ ।

त्यसैगरी  मुगुदेखि साबिक पाटी गाबिससम्म ट्याक खोल्ने काम समेत यसैबर्ष पुरा भएको छ । बगैंचादेखि साबिक याङ्शिला गाबिस जाने बगैंचा चिउरीभन्ज्याङ सडकको हुर्हुरे खोलामा अढाई करोडको लागतमा लागतमा साढे २२ मीटर लामो मोटरेबल पुल बनेको गाउँपालिकाले जनाएको छ  । त्यस्तै केराबारी बजार क्षेत्र ड्रेन बनाइएको तथा बजारदेखि मच्छिन्द्र माबिसम्म कालोपत्रे गर्न काम भइरहेको छ । हालसम्म चालू आर्थिक बर्षका ९० प्रतिशत योजनाका काम सम्पन्न भइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

गम्भीर रोगका ५० भन्दाबढी  बिरामीलाई उपचार सहयोग

गाउँपालिकाले मुटु, मृगौला, इन्जाइमर, ब्रेन ट्युमर, क्यान्सर जस्ता रोगका बिरामीलाई १० हजारका दरले आर्थिक सहयोग दिदै आएको छ । जस अनुसार हालसम्म ५० भन्दा बढीले उपचार सहयोग लिइसकेको गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए ।

वडा सिलिङको बजेट खर्च गर्न मापदण्ड

२०७५ असोज १० गते प्रथम गाउँ परिषद गरेको गाउँपालिकाले ३८ करोडको बजेट ल्याएको थियो । बजेटमा केराबारीका १० वटा वडालाइ नै ७५ लाखका दरले सिलिङ बजेट दिइएको थियो । वडाको सिलिङ बजेटमा स्पष्ट मापदण्ड बनाइएकोले पनि बिकास निर्माणका कामले गति लिएको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले बताए । उनका अनुसार वडामा एउटा योजना कम्तीमा २० लाखको हुनुपर्ने, १ लाखभन्दा साना योजनामा लगानी गर्न नपाइने र वडाभर बढीमा २० वटा योजनामा मात्र लगानी गर्न पाइने मापदण्ड बनाइएको थियोे ।

डेढ दर्जन कार्यबिधी पारित

गाउँपालिकाले हालसम्म बिपत ब्यबस्थापन कार्यबिधि, सहकारी संचालन कार्यबिधि, शिक्षा कार्यबिधि, पदाधिकारी आचारसंहिता कार्यबिधि, निर्णय आदेश अधिकारपत्रको प्रमाणीकरण कार्यबिधि, कार्यसम्पादन नियमावली, गाउँसभा कार्यबिधि र सन्चार कार्यबिधि लगायत अन्य केही गाउँकार्यपालिकाबाट स्वीकृत भइसकेका छन् । 

शिक्षा र कृषि

आर्थिक बर्ष २०७४/०७५ को गाउँपरिषदले कृषि क्षेत्रमा २० लाख बजेट छुट्याएको थियो । जस अनुसार विभिन्न वडाका कृषकहरुलाइ हाते ट्याक्टर, बाख्रा र बालिबिरुवा बितरण गरिएको अध्यक्ष कार्कीले बताए । कृषि क्षेत्र प्रबर्द्धनका लागि वडा नम्बर ३ लाई बाख्रा पोकेट क्षेत्र घोषणा गर्दै २० परिवारलाई जमुनापारी जातका बाख्रा दिइएको छ । त्यसैगरी वडा नम्बर १ लाई तरकारी पोकेट क्षेत्र र वडा नम्बर २ लाई कागती पोकेट क्षेत्र घोषणा गरी कृषकहरुलाई बीउ र बिरुवा बितराण गरिएको गापाले जनाएको छ ।

गाउँपालिकाले हालसम्म पाँचवटा सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान गरेको छ । त्यसो त गाउँपालिका अन्तरगतको शिक्षा शाखाले यसअघि लिइएको कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका एकैठाउँमा चेक गरेको थियोे ।