आफुहरुको श्रम शोषण गरिएको भन्दै बालकक्षाका शिक्षिकाहरु आन्दोलित

बालवालकक्षाका ३७ हजार शिक्षिकाहरुको बिजोग

  • १२ भाद्र २०७५, मंगलवार

पटकपटक प्रदेश र स्थानीय सरकारलाई मागपत्र पेश गरी ध्यानाकर्षण गराउंदा पनि आफुहरुको मागलाई बेवास्ता गरिएको भन्दै बेलबारी र सुन्दरहरैंचाका वालकक्षा शिक्षिकाहरुले मंगलबार दुवै नगरपालिकाको गेटमा धर्ना दिएका छन् ।

राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन  बेलबारी नगरसमितिको आयोजनामा उनीहरूले नगरपालिकाको गेटमा एक डेढ घण्टासम्म धर्ना दिएका हुन् । दुई दर्जनभन्दा बढीको संख्यामा भेला भएका उनीहरूले दिउँसो  साढे १० बजेदेखि १२ बजेसम्म नगरपालिका भवनको गेटमा धर्ना दिएका थिए । धर्नामा नेपाल शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोबिन्द भण्डारी र सचिब हेमचन्द्र अधिकारीले समेत ऐक्यबद्धता जनाएका थिए ।

आफुहरुलाइ १० बजेदेखि २ बजेसम्म काम गर्नेगरी नियुक्त गरिएको भएपनि ४ बजेसम्म काम लगाउने गरिएको, मासिक ६ हजार मात्र तलब दिइ शिक्षिकाहरुको श्रम शोषण गरिएको लगायतका माग राखी नगरपालिकामा पाँच सात पटक मागपत्र पेश गरिएपछि धर्ना दिइएको राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन बेलबारी नगरसमिति  उपाध्यक्ष अनिता ढकालले बताइन् ।

सरकारले केही बर्ष अघिदेखि समुदायमा आधारित र विद्यालयमा आधारित बाल कक्षा संचालन गर्दै आएको छ । हाल ती सबै सामुदायिक विद्यालयमा गाभेर संचालन गरिदै आएका छन् । तर सरकारले अरु शिक्षिकासरह तलब दिनुपर्ने मुख्य माग सहित संघर्ष गर्नुपरेको राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन  बेलबारीकी बलबारी नगरकमिटी अध्यक्ष इश्वरा खड्काले बताइन् । नगरपालिकाले यसबर्ष ३ हजार पोसाक खर्च बाहेक कुनै सुबिधा नदिएको उनले बताइन् ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई भेटेर मागपत्र पेस गर्दा नगरपालिकाले वालकक्षाका लागि बजेट बिनियोजन गर्न नमिल्ने बताएको र त्यसपछि प्रदेश सरकारलाई समेत  मागपत्र पेस गरेपनि सुनुवाइ नभएको उपाध्यक्ष ढकालले बताइन् । आफुहरुको श्रम शोषण गरिएको र लैंगिक विभेद गरिएकोबारे न्यायिक समितिकी संयोजक उपमेयर ढाकाकुमारी पराजुलीको समेत ध्यानाकर्षण गराइएको उनले बताइन् ।

वाल शिक्षकहरुले पछिल्लोपटक २०७५ साउन ३१ गते बेलबारी नगरपालिकालाई  १२ बुंदे मागपत्र बुझाएका थिए ।

मागपत्रमा बाल बिकासमा कार्यरत शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, बर्तमान तलबभत्ता र महंगी भत्ता बृद्दी गरी आधारभूत तहका शिक्षक सरह बनाइनुपर्ने, सामान्य प्रक्रियाबाट दरबन्दीमा समायोजन गरी स्थायी गर्नुपर्ने, उमेरको हद हटाउनुपर्ने, मण्टेश्वरी तालिमको ब्यबस्था गर्नुपर्ने, शिक्षणका लागि पर्याप्त शैक्षिक सामग्री उपलब्ध गराइनुपर्ने, नयाँ बाल शिक्षक राख्न बन्द गर्दै समुदायमा आधारित बाल बिकास केन्द्रलाई विद्यालयमा गाभनुपर्ने जस्ता माग समेटिएको छ ।

सुन्दरहरैचामा पनि धर्ना 

त्यसैगरी बाल विकास केन्द्रमा अध्यापन गराउँने शिक्षकहरुले सेवा सुविधा वृद्धी गर्नुपर्ने माग राख्दै सुन्दरहरैंचा नगरपालिका कार्यालयमा  पनि धर्ना दिएका छन् । उनीहरुले नेपाल राष्ट्यि प्रारम्भिक बालविकास केन्द्रीय संघर्ष समितिको अब्हानमा नगरपालिका परिसरमा विभिन्न नारा सहित धर्ना दिएका हुन् ।

सरकारले १३ वर्षदेखी कायम गरिएको ६ हजार रुपैयाँ तलब एक दशक भन्दा बढी हुँदा पनि सेवा सुविधा नबढाएको भन्दै आफ्ना विभिन्न माग राखेर आन्दोनमा उत्रिएको संर्घष समितिका अध्यक्ष दिव्या भेटवाल बताईन् । उनले प्रा वि तह विद्यालयमा अध्यापन गराउने शिक्षक सरहको तलब बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरुको हुनुपर्ने माग रहेको बताईन ।
त्यस्तै प्रारम्भिक बालविकास केन्द्रलाई शिक्षा ऐनमा संशोधन भएको कुरा कानुनमा उल्लेख गर्नुपर्ने, बालविकास केन्द्रको सट्टा बालविकास शिक्षा आधारभुत तह बनाउनुपर्ने माग राख्दै नगरपालिका परिषरमा धर्ना दिएका थिए ।.बाल विकास केन्द्र स्थानिय तह अन्तर्गत संचालन रहने भएकोले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै नगरमा धार्ना दिएको संर्घष समितीका सोभा ओझाले बताईन । ५ वर्ष मुनिका साना बालवालिकाहरुलाई स्थानिय सामुदायमा रहने बाल विकास केन्द्रमा राखेर अध्यपान गराईदै आएको छ । सुन्दरहरैंचा नपा भित्र जम्मा ७५ जना वाल शिक्षिका  छन् ।

बालवालकक्षाका ३७ हजार शिक्षिकाहरुको बिजोग

त्यसो त बेलबारीमा मात्रै होइन,  देशभरका बाल शिक्षिकाहरुको अबस्था उही छ । बेलबारी नगरपालिका क्षेत्रमा ६५ जना बाल शिक्षिका छन् । त्यस्तै मोरङ जिल्लामा ९ सय ५५ जना र देशभर झण्डै ३७ हजार बाल शिक्षिकाहरु छन् । उनीहरू सबैजना मासिक ६ हजार तलबमा काम गरिरहेका छन् । देशभर कार्यरत बाल शिक्षिका संगठनहरुले  लामो समयदेखि ती माग राख्दै आएका छन् । – अम्बिका भण्डारी