बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह शुरु, पुर्व-पश्चिम सडकका २० ठाउँमा जेब्राक्रस बनाइने

  • २४ भाद्र २०७५, आईतवार

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०७५ शुरु भएको छ ।कुसे औंसी अर्थात्  बाबुको मुख हेर्ने दिनको अबसर पारेर आइतबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । 

बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाइंको अध्यक्षता, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अशोक शंकरको बिशेष आतिथ्यतामा भएको जेसिज सप्ताहको पहिलो दिन बाबुको मुख हेर्ने कार्यक्रम तथा जेष्ठ आमाहरुका लागि तीज विशेष कार्यक्रम समेत गरिएको छ ।

महिला जेष्ठ नागरिक ९५ बर्षिया बिष्णु कोइराला र ८० बर्षिय जेष्ठ नागरिक हस्त बहादुर खुलाललाइ सम्मान गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । खुलाललाइ  ढाकाटोपीसहित दौर सुरुवाल र कोइरालालाई पछ्छौरी ओढाएर प्रमुख अतिथिले सम्मान गरेका थिए । हरेक बर्ष बुबाको मुख हेर्ने दिन बृद्दबृद्दालाइ सम्मान गर्दै आएका जेसी तथा बेलबारी ३ का वडा सदस्य ऐश्वर्य प्रसाद आचार्य (बिपीन) ले सम्मानका लागि पहिरन उपलब्ध गराएका थिए ।

कार्यक्रममा उपस्थित बृदबृद्दा तथा उपस्थित सबैलाई खानेकुरा, फलफूल र जुस दिएर दर खुवाइएको थियो ।  कार्यक्रममा गायिका यमुना पराजुली र सन्जिव धिमालले तीज तथा अन्य गीतहरु प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रम बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा सयभन्दा बढी बृद्दबृद्दबृद्दा तथा दर्जनौं संघसंस्थाका प्रतिनिधिहरुहरुको उपस्थिति थियो ।

असोज १० सम्म चल्ने जेसिज सप्ताह कार्यक्रम अन्तरगत राजमार्गका विभिन्न २०  ठाउँमा जेब्रा क्रसिङ निर्माण गर्ने र बेलबारीको सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई उत्प्रेरणा तालिम आयोजना गरिएको बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापाले जानकारी दिए । त्यसैगरी नेतृत्व बिकास तालिम, विद्यार्थीलाई पाठ्यसामग्री बितरण जस्ता कार्यक्रम तय भएको बेलबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष दीपेन्द्र खुलालले जानकारी दिए ।