छालाको रोगले थलिएर बसेका दुइ वालवालिकाको उपचार शुरु, बेलबारी नपाले पुर्यायो अस्पताल

बिरामीलाई लिएर उपमेयर आफैंं पुगिन् अस्पताल

  • २५ पुष २०७५, बुधबार

केशु विरही, बेलबारी, मोरङ/ छालाको रोगबाट ग्रसित भई कुरुप अबस्थामा पुगेका तर गरिवीका कारण उपचार गर्न नसकी थलिएर घरमै बसेका बेलबारी -९ वेलेगाउँको एकै परिवारका दुईजना वालवलिकाको उपचार शुरु गरिएको  छ ।

बेलबारी नगरपालिकाको पहलमा उनीहरूको उपचार शुरु गरिएको हो । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बुधबार उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएकी हुन् । रोगका कारण कुरुप भइ पढाइ समेत छाडेका  उनीहरूको उपचार नगरपालिकाले गर्ने प्रतिबद्धता  अनुसार आफूले प्रयोग गर्ने नगरपालिकाको गाडीमा पराजुली दुवैलाई लिएर अस्पताल गएकी थिइन् ।

बेलबारी नगरपालिका वडा नम्बर ९ का नलबहादुर धिमालकी २२ वर्षीया छोरी आस्मा र ८ वर्षीय छोरा अमित धिमाल लामो समयदेखि जीउभर छालाको रोगबाट पीडित थिए । छाला पोल्ने र घाम लागेको ठाउँमा निस्कनै नमिल्ने उनीहरूको शरीरमा निस्केको घाउ शरिरभर फैलेर अनुहार पाक्न थालेको थियो । रोगले दिदी आस्माको आँखालाई पनि असर गरिसकेको डाक्टरले बताएका छन्  ।

आर्थिक  अवस्था कमजोर भएको र उपचार गर्न नसकी पढाई नै छाडेको समाचार विभिन्न संचारमाध्यममा आएपछि सबैको ध्यानाकर्षण भएको थियो ।

बेलबारी नगरपालिकाकी  उपमेयर ढाकाकुमारी पराजुलीले परिवारले अस्पताल जाने पैसा समेत नभएको बताएपछि  नगरपालिकाकै गाडीमा उनीहरूलाई अस्पताल लगेको बताइन् । आफूसहित लक्ष्मी माविका शिक्षक देवीप्रसाद पोखरेल र बिरामीका आफन्त पनि अस्पताल गएको पनि उनले बताइन् ।

उनका अनुसार डाक्टरले छालाको सो रोग वंशाणुगत गुणका कारण आएको बताएका छन् । बुधबार चेकजाँच गरी औषधि दिइएको छ । एक हप्तापछि बोलाइएकोले अर्कोपटक अस्पताल जाँदा रोग र त्यसको अवस्थाको बारेमा पुरा जानकारी हुने उनले बताइन् ।

आर्थिक अभावका कारण उपचार हुन नसकेकाे खबर पाएपछि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वकाे नगरकार्यपालिकाका महिला सदस्यहरुकाे टाेलीले सोमबार घरमै पुगेर धिमाल दिदी भाइकाे अवस्था बुझेर उनीहरुलाई न्यानाे कपडा समेत उपलव्ध गराएकाे थियाे ।

परिक्षणबाट दिदीकाे अवस्था केही जटिल देखिएकाे तर भाइकाे अवस्थामा त्यति जटिल नरहेकाे डाक्टरकाे भनाईलाई उध्रित गर्दै दिदी भाइलाई उपचारका लागि अस्पताल लिएर गएकी उपमेयर पराजुलीले संयन्त्रसँग वताईन् ।

अहिले दुवै जना दिदी भाइलाई घरमै ल्याइएकाे छ भने उनीहरुले औषधि सेवन गर्न थालेका छन् ।

सम्पत्तिको नाममा धिमाल परिवारको एउटा सानो घर मात्र छ । उनीहरु लामाे समयदेखि अर्काकै जग्गामा खेतीपाती गरेर जीवन निर्वाह गर्दै आएका छन् । दुई छाक टार्न र एक सराे लाउनमै धाैधाै परिरहेकाे धिमाल परिवारलाई छाेरा छाेरीकाे उपचारमा खर्च जुटाउने कुनै श्राेत छैन । झन पछिल्लाे समयमा घरकाे एकमात्र कमाई गर्ने उनीहरुका बुबा आफैं थला परेपछि परिवार  झनै पिडामा छ तर नगरपालिकाकाे सहयाेगमा उपचार सुरु भए पछि धिमाल परिवारले केही राहातकाे सास फेरिरहेकाे छ ।

अामा टंककुमारीले संयन्त्रसँग भनिन् – “घरकाे एजना मात्र कमाई गर्ने मानिस पनि थला परेपछि त झनै गार्हाे परेकाे छ । तर नगरपालिकाले उपचारमा सहयाेग गर्ने भनेकाेले केही आश पलाएकाे छ ।”

रोगकै कारणले दिदी भाइले विद्यालय गएर पढ्न समेत पाएका छैनन् । अरुले झैँ विद्यालय गएर पढ्ने मन भए पनि घाममा निस्कनै कठिन भएकाेले विद्यालय गएर पढ्न नपाएकाे अास्मा वताउँछिन् । भाइ अार्यनले भने सात वर्षकाे उमेरमा पनि कख समेत चिन्न सकेका छैनन् ।