खोटाङमा बांदर समात्ने अभियान शुरु, एउटा बांदर समाएको २ हजार रुपैयाँ दिइंदै

  • २३ माघ २०७५, बुधबार

बाँदरले किसानलाई हैरान पारेपछि खोटाङमा बाँदर नियन्त्रण तथा व्यवस्थापन अभियान शुरु गरिएको छ ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिएको हो ।

बाँदर नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी नैै ल्याइएको छ । बाँदरलाई खोर र जाल थापेर समात्न भारत खुसीनगर उत्तरप्रदेशका सिकारीसहित दुई जना दिक्तेल आएका छन् । उनीहरुलाई रुपाकोट मझुवागढी नगरपालिका मेयर दिप नारायण रिजालले पेश्की रकम समेत दिएका छन्    ।

आगामी जेठ मसान्तभित्र प्रतिगोटा दुई हजार रुपैयाँका दरले २ सय ५० वटा बाँदर समात्न नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए ।

केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलामा पर्ने सिम्पानी, दसगते, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मी लगायतका बासिन्दाले प्रतिघर रु. २०० चन्दा उठाएर बाँदर धपाउने अभियान चलाएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट शुरु गरिएको आभियान १० वटै स्थानीय तहमा पु¥याइने समितिका अध्यक्ष दुर्गाबाहदुर घिमिरेले जानकारी दिए । बाँदरलाई समातेर निकुञ्ज पु¥याइने छ । खोटाङका धेरैजसो ठाउँमा बाँदरले दुःख दिने समस्या छ । – अनलाइन सगरमाथाबाट