वस्ती नजिकका वनमै डढेलोको खतरा, डढेलो विरुद्ध अभियान चलाउँदै वन कार्यालय

  • १२ चैत्र २०७५, मंगलवार

वन डढेलो नियन्त्रण जनचेतना सप्ताह कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय मोरङले मंगलबार बेलबारी स्थित वेतना सिमसारमा  सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
डिभिजन वन कार्यालय मोरङको आयोजनामा बेलबारीस्थित बेतना सिमसार सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, साझेदारी वन र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरुले डढेलो लाग्न नदिन व्यक्ति व्यक्तिलाई चेतनशिल र जिम्मेवार वनाउने र डढेलो लागिहालेमा एकिकृत भएर नियन्त्रणमा लिनु सबैको दायित्व हुनेमा उनीहरुले जोड दिए ।
 डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विशाल घिमिरेले धेरैजसो डढेलोका घटनामा मानवीय गतिविधिकै कारण र त्यसमा पनि नियतवस नै हुने गरेको तथ्यांक सुनाए  । फागुनदेखि जेठसम्म यस्ता घटना धेरै हुने भएकाले डिभिजन वन कार्यालयले यसलाई रोक्ने तर्फ विशेष ध्यान दिएको उनले बताए । डढेलोका कारण वनमा मात्रै हैन नजिकको वस्तीमा पनि आगो फैलिएर जनधनको क्षति हुने भएकाले डढेलो नियन्त्रण गर्नु मेरै दायित्व हो भन्ने भावनाका काम गर्नुपर्ने उनको भनाई छ ।
‘चेतना फैलाउन रेडियो, अनलाइन, सामाजिक सञ्जालको महत्त्वपूर्ण योगदान हुने उनलेे बताए  ।
मानव वस्ती नजिकका वनहरु सामुदायिक वन नै रहेकाले अब सबै सामुदायिक वनले डढेलो जोखिम क्षेत्रमा पानीका ट्यांकीहरु राख्ने, ट्याक्टर जस्ता गाडीमा ठुलो ट्यांकी राखेर पानी र पाइप तयारी राख्ने जस्ता पुर्वतयारी गर्न उनले सुझाव दिए ।
कार्यक्रममा विभिन्न सामुदायिक वन र साझेदारी वनका प्रतिनिधि,विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी लगायतले बोलेका थिए । कार्यक्रममा साझेदारी वन जिल्ला महासंघ मोरङका अध्यक्ष प्रकास पौडेलले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि आधुनिक उपकरण र तालिमको पनि अभाव रहेको बताए । वन समुहहरु डढेलो नियन्त्रणका लागि वर्षेनी प्रयासरत रहेको पनि उनले बताए ।
वेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतले डढेलो लाग्न नदिन मानिसलाई सचेत गराउनुनै महत्वपुर्ण हुने भएकाले बेलबारी का ११ वटै वडा कार्यालयमा डढेलो र आगलागी विरुद्ध चेतनामुलक सुचना वोर्ड राख्न लागिएको बताए ।
अमना सिसौली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लिला आचार्यले डढेलो नियन्त्रणको पहल स्वरुप नै सामुदायिक वनहरुले रेडियो मार्फत डढेलो रोक्ने चेतनामुलक सन्देशहरु प्रवाह गरिरहेको बताए । पत्रकार भक्तसेर लिम्बुले डढेलो नियन्त्रणका लागि सञ्चार क्षेत्रले आफ्नो भुमिका अझै बढाउने बताए ।
चैत ६ गते बाट सूरु भएको वन डढेलो नियन्त्रण जनचेतना सप्ताह पनि मंगलबार नै सम्पन्न भएको छ । सप्ताह सम्पन्न भएपनि डढेलो नियन्त्रण कार्य र अभियान भने जारी नै रहने डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।