गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि

  • ९ असार २०७६, सोमबार

नेपालका चर्चित गजलकारहरुको सहभागितामा मोरङको बेलबारीमा ‘बेलबारी गजल महफिल २०७६’ भब्य रूपमा सम्पन्न भएको छ ।

कोशी नेपाल टेलिभिजनबाट प्रसारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तरगत शनिबार सो कार्यक्रम भएको हो । बेलबारी नगरपालिका सहयोगमा नगरपालिकाकै हलमा खचाखच दर्शक र श्रष्टाहरुको उपस्थितिमा भएको कार्यक्रमको आयोजना कोशी नेपाल मिडियाले गरेको थियो । जेवी थुलुङले संचालन गरेको कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुवेदी प्रमुख अतिथि थिए । कार्यक्रममा पुर्व सांसदहरु हर्कमान तामाङ, मधु गुरुङ लगायत पनि उपस्थित थिए । कार्यक्रम कोशी नेपाल मिडियाका अध्यक्ष अर्जुनकुमार राई (खनेन्द्र) को सभापतित्वमा भएको थियो ।

कार्यक्रममा पोखरेली गजलकार प्रकट पंगेनी शिव, बसन्त ओली बसन्ती (दाङ) , जीवी गजल, युवराज ठकुरी अज्ञानी, पुष्प अधिकारी अञ्जली (चितवन), अनन्त अनुरागी, बिराट अनुपम, किसान प्रेमी (चितवन), सुन्दर कुरुप , प्रमोद स्नेही श्रेष्ठ, मधु पोख्रेल, सुनिता तामाङ (झापा), पुरु लम्साल (इलाम), कविता राइ, तिला लेकाली, विवस बलभद्र कोइराला, तारा (ढाका कुमारी) पराजुली, प्रकाश किरण (जाजरकोट) , टीका आत्रेय, जेवी थुलुङ लगायतले गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केही भारतीय गजलकारहरुको पनि उपस्थिति थियो । गजलको हाउभाउ र गुन्जनले शनिबार दिनभर  बेलबारी नगरपालिका परिसर गुन्जायमान थियो ।

गजलकारहरुले गजल प्रस्तुत गरिरहँदा दर्शक पनि खुलेका देखिन्थे । दर्शकहरुको घरी घरीको वाह.. वाह.. र त्यस्तै अन्य हाउभाउले हलको रौनक नै बढेको थियोे । प्रकट पंगेनीले गजल एक सुन्दर युवतीमा केन्द्रित भएर प्रस्तुत गरिरहँदा दर्शकले ‘वान्स मोर’ को आवाज घन्किएपछि एकपटक विदा भएर पनि फर्केर अर्को गजल नभनी सुखै पाएनन् ।