सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु

  • १८ भाद्र २०७६, बुधबार

केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट  राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् ।

पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका ४० जना गरीब तथा विपन्न किसानहरु मिलेर ६ महिना अघिदेखि संचालन गरेको सामूहिक खेतीले राम्रो आम्दानी दिन थालेपछि अरु कृषकहरु पनि यसतर्फ हौसिएका हुन् । सामूहिक खेतीको राम्रो उदाहरण दिँदै उनीहरूले यसबाट मनग्गे आम्दानी पनि गरिरहेका छन् ।

वेरोजगार युवाहरुलाई गाउँमै रोजगारी दिने अभिप्रायले शुरु गरिएको सामूहिक खेतीमा आवद्ध कृषकहरुलाई “सयपत्री कृषक समूह” नाम दिएर संगठित गरिएको छ । अर्काकै खेतीपाती गर्दै आएका यी अधिकांक्ष गरीव तथा विपन्न कृषकहरुले १ विगाहा ३ कठ्ठा जमिन बार्षिक ७० हजारमा लिजमा लिएर सामूहिक खेती सुरु गरेका हुन् । अहिले सुरुवाती अवस्थामै भए पनि यसले राम्रो लक्षण देखाएको सयपत्री कृषक समूहका अध्यक्ष खेम भट्टराई बताउँछन् ।

भट्टराईलाई सुरुमा आफूहरुले राखेको उद्देश्य अनुसार काम नहोला कि भन्ने लागेको थियो । तर अहिले उत्पादन आउन थाले पछि आफूहरु मख्ख रहेको उनी बताउँछन् ।

सवुरलाल विश्वासको चार जनाको परिवार छ । छोरी विविएस पढ्दैछिन भने छोरा कक्षा १२ मा पढ्छन् । सामूहिक खेतीका अलावा उनी आफूले व्यक्तिगत रुपमै पनि २\३ कठ्ठा जमिनमा तरकारी खेती लाएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भए पनि लोहान्द्रा खोलामा भर पर्नु पर्ने भएकोले सिंचाईको ससस्या रहेको बताउँछन् ।

विगत लामो समयदेखी तरकारी खेती गर्दै आएकी कुमारगाउँकै सीता चौधरी सामूहिक खेतीले गर्दा आम्दानीका साथसाथै बन्धुत्वको भावनाको विकास हुने, एक आपसमा भेटघाट र परेको वेलामा सहयोग लिन र दिन सजिलो भएको बताउछिन ।

सामूहिक खेती मार्फत अहिले उनीहरुले भाडामा लिएको १ बिगाहा ३ कठ्ठा जमिनमध्ये ४÷५ कठ्ठामा भेण्डी, बैगुन, लौका, घिरौला आदि सब्जीखेती गरिरहेका छन् भने बाँकी क्षेत्रफलमा चैते २ जातको धान खेती पनि गरेका छन् । धान खेतीको उत्पादन हेर्नै बाँकी रहे पनि सब्जी खेतीबाट भने राम्रो उत्पादन लिइरहेको उनीहरु बताउँछन् ।

सामूहिक खेती भएकोले रोप्नदेखि लिएर गोडमेल गर्न र फसल उठाउन समेत उनीहरु सामूहिक रुपमा गर्छन । दैनिक रुपमा पालो बाँधिएको हुन्छ । सोही पालो अनुसार उनीहरु भेला हुन्छन् र काम गर्छन ।
बजारको समस्या नरहेपनि अरु व्यपारीको एकाधिकारले गर्दा आफूहरुको उत्पादनले उचित मूल्य नपाएको उनीहरुको गुनासो रहेको छ । भविष्यमा उनीहरु अर्गानिक सब्जीखेतीमा जोडदिने बताउँछन् ।

यता सुन्दरहरैंचा नगरपालिका पनि उनीहरुको सामूहिक खेतीलाई महत्वपूर्ण रुपमा हेरेको वताउको छ । सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ आफूहरुले कृषि क्षेत्रलाई विशेष महत्व दिएको बताउछिन् ।

नाराले मात्र कृषिक्रान्ति गर्ने तर व्यवहारमा भने सिन्को समेत नभाच्ने मानिसहरुले सुन्दरहरैंचाका यी कृषकहरुबाट प्रेरणा लिएर सामूहिक खेतीतर्फ लागेर भाइचाराको सम्बन्ध कायम गर्दै राम्रो आम्दानी पनि लिने हो कि ?