पाथीभरा र हलेसी मन्दिर जाने योजना छ ? अब प्लेन चढेर पनि जान पाइने भो नि !

  • ६ मंसिर २०७६, शुक्रबार

प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि बिराटनगरबाट हवाई सेवा सुरु गरिने भएको छ ।

ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर लगायत धार्मिक तीर्थस्थल तथा पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो । विराटनगर विमानस्थलबाट मंसिर तेस्रो सातादेखि हवाई  सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप, सीता एयर र माउण्टेन हेलिकप्टर कम्पनीबीच सहमति भएको छ ।

बिराट होलिडे ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठले माग धेरै आएका कारण धार्मिक तीर्थस्थलसँगै हिमालय क्षेत्रको दृश्यावलोकनका लागि पर्वतीय उडान भर्ने गरी हवाई सेवा सुरु गर्न लागिएको बताए । पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई विराटनगरबाट जहाजमा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकोप्टर मार्फत मन्दिर दर्शनका लागि लैजाने योजना रहेको श्रेष्ठले बताए । उनका अनुसार  माउण्टेन हेलिकप्टर सुकेटार विमानस्थलमा  राखिने छ । श्रेेष्ठका अनुुसार सुकेटारबाट पाथिभरासम्मको हेलिकप्टर उडान ७ मिनेटको हुनेछ ।

हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ । ६ जनाको क्षमता भएको हेलिकप्टरले उच्च क्षेत्रमा उडान गर्नु पर्ने भएकाले ५ जना मात्रै यात्रु बोक्ने श्रेष्ठको भनाइ छ ।

त्यसैगरी खोटाङको हलेेेेसी जान चाहनेलाई लामिडाँडा विमानस्थलसम्म जहाजमा लैजाने र त्यसपछि गाडीमा लगेर हलेसीको दर्शन गरेर फर्किएपछि जहाजमै विराटनगर ल्याइने श्रेष्ठले बताए । हवाई सेवा मार्फत पाथीभरा र हलेसी आवतजावत गर्दा कति खर्च लाग्छ भन्ने चाहिंँ सार्वजनिक गरिएको छैन ।

भ्रमण वर्ष २०२० लाई समेत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरेर हवाई सुरु गरिएको पर्यटन व्यवसायीको भनाइ छ ।