७० लाख खर्चेर बेलबारी नगरपालिकाले किन्यो दमकल, आउँदैछ शब बाहन र अर्को दमकल पनि
- २७ माघ २०७६, सोमबार
मोरङको बेलबारी नगरपालिकाले ७० लाख खर्चेर नयाँ दमकल खरिद गरेको छ ।
स्थानीय निकाय आफैसँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था अन्त्य गर्दै नगरपालिकाले दमकल (बारुणयन्त्र) किनेको हो । बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार नयाँ दमकल सोमबार आइसकेको छ ।
बेलबारी नगरपालिकाको नगरसभाले दमकल र शबबाहन किन्नेे निर्णय गरेको थियो । सोही बमोजिम नयाँ दमकल खरिद गरिएको नगरपालिकाले जनाएको छ ।
प्रबक्ता सुवेदीका अनुसार नयाँ दमकललाइ नगरपालिकामा भएकै कर्मचारी खटाएर सञ्चालन गरिनेछ । दमकल सञ्चालन गर्न ठुलो खर्च आबश्यक हुने भएका कारण सकेसम्म कम खर्चमा दमकल संचालन गर्न हाल भएकै कर्मचारीलाइ परिचालन गरिने उनले बताए ।
शबबाहन र अर्को दमकल पनि आउँदै
बेलबारी नगरपालिकाको अघिल्लो नगरसभाले दमकल र शब बाहन खरिद गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार दमकल खरिद भए पनि शब बाहन खरिदको प्रक्रियामा छ ।
त्यसो त बेलबारी नगरपालिकालाई एक क्यानेडिन कम्पनीले पनि नि:शुल्क दमकल उपलब्ध गराउने भएको छ । दातासँग सम्झौता भई प्रक्रिया अघि बढिसकेकोले केही महिना भित्रमै अर्को दमकल पनि आइपुग्ने नगरपालिकाले जनाएको छ ।
धेरै बर्षअघि तत्कालीन बेलबारी गाविसले एम्बुलेन्स समेत खरिद गरेको थियो । तर दुर्घटनामा परी क्षतबिक्षत भएपछि सो एम्बुलेन्स थन्किएको थियो । सो एम्बुलेन्स हाल पनि बेलबारी नगरपालिका परिसरमै कवाडी बनेर थन्किएको छ ।