बेलबारी नगरपालिकाद्वारा निजि मेडिकलहरुमा अनुगमन, उपचारमा गम्भीर बन्न आग्रह

  • २३ चैत्र २०७६, आईतवार

कोरोनाको त्रास तथा त्यसकाे बाहनामा सामान्य विरामीलाई समेत उपचार नगरी अन्तै रेफर गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले मेडिकलहरुकाे अनुगमन गरेको छ ।

शनिवार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न मेडिकलहरुकाे अनुगमगन गरी काेराेनाकाे लक्षण बाहेकका विरामीलाई अन्यत्र रेफर नगरी उनीहरुकाे उपचार गर्न निर्देशन दिएकाे हाे ।

अनुगमन टोलीमा बेलबारी नगरपालिकाका नगर प्रवक्ता एवम् बेलबारी उद्याेग वाणिज्य सङ्घका अध्यक्ष याेगेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका सन्ताेश विश्वकर्मा तथा संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

काेराेना वाहाना बनाउँदै केही मेडिकलले हात भाचिएकाे विरामीलाई समेत उपचार नगरी फर्काएकाे गुनासाे आएकाेले नगरपालिकाले त्यस्ता मेडिकलहरुलाई आफ्नाे धर्म सम्झेर काम गर्न भनिएकाे छ । यदि अनुगमन समितिकाे निर्देशनलाई अटेर गरे त्यस्ता मेडिकललाई कार्वाही गर्न समेत नगरपालिका पछि नपर्ने अनुगमन समितिका संयाेजक एवम् उपप्रमुख ढाकाकुमारी पराजुलीले बताईन् ।

नगरपालिकाले निजि क्लिनिक समेतलाई यसअघि नै व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलव्ध गराईसकेकाे छ ।