सुनिल शर्माको राहतको निहुँमा कानेपोखरीमा दलीय मनमुटाव, छुट्टै राहत बाँड्दै कांग्रेस 

  • ३ बैशाख २०७७, बुधबार

नोबेल अस्पतालका संचालक डा. सुनिल शर्माले गत बिहिबार मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितका लागि तीन नगरपालिकालाई ३० लाख ३६ हजार राहत रकम प्रदान गरे । बेलबारीमा भेला भएर सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारीका नगर प्रमुखले डा.शर्माबाट राहतको चेक बुझे र गरिब, बिपन्न तथा कोरोना प्रभावित जनतासमक्ष राहत पुर्याउने प्रतिवद्धता पनि जनाए ।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेद्वारसमेत बनेका शर्मा तीन नगरपालिकालाई मात्र राहत दिन बेलवारी पुगेका थिएनन् । उनी क्षेत्र नं.३ का कानेपोखरी गाउँपालिका सहित चार वटै पालिकालाई राहतको लागि सहयोग हस्तान्तरण गर्ने घोषणा गरेर बेलबारी गएका थिए । डा. शर्माले चार वटै पालिकालाई राहत प्रदान गर्न लागेको खबरले सामाजिक सञ्जालका भित्ता बिहानैदेखि रंगिएका थिए । तर अन्ततः कानेपोखरी बाहेकका नगरले मात्र राहतको चेक बुझे ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले पूर्व निर्धारित कार्यक्रममा राहतको चेक बुझ्न गएनन् र दाता डा.शर्माले कानेपोखरीबासीलाई दिन ठिक्क पारेको ५ लाख रकम उम्कियो । अध्यक्ष काफ्ले राहत बुझ्न नगएपछि कोनेपोखरीको भागमा परेको रकम डा.शर्माले फिर्ता नलग्ने भन्दै तीन नगरपालिकालाई नै थपिदिए ।

यता, कानेपोखरी अध्यक्ष काफ्लेले आफुलाई आधिकारीक जानकारी नआएकाले राहत बुझ्न नगएको बताएका छन् । तर, आधिकारीक जानकारीको कुरा गरेर राहत लिन नआउँनुमा कुनै तुक नरहेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी बताउँछन् ।

राहत लिनका लागि चारवटै पालिकाका प्रमुखहरु बेलबारीमा भेला हुने सहमति भएको भएपनि कानेपोखरी अध्यक्ष काफ्ले नआएको नगर प्रमुख सुवेदीले बताए । ‘सबैको सेन्टर पर्ने भएकाले बेलबारीमा राहत ग्रहण गर्ने कार्यक्रम तय गर्यौ । कानेपोखरी अध्यक्ष काफ्लेसँग पनि अघिल्लो दिनदेखि ५ पटक फोन सम्पर्क भएको थियो । उहाँ आउन तयार हुनुहुन्थ्यो । तर, पूर्व निर्धारित कार्यक्रमको समय भईसकेपछि अन्तिममा फोन सम्पर्क हुँदा उहाँले म नआउँने भए भन्नुभयो र आउँनुभएन ।’ सुबेदीले भने ‘उहाँले आधिकारीक व्यक्तिले खबर गर्नुपर्यो भन्नुभएको भए म वीचमा पर्नुपर्ने कामै थिएन । सुनिल जीलाई आफै सम्पर्क गर्नु भन्दिने थिए ।’

बेलबारी नगरप्रमुख सुवेदी र कानेपोखरी गाउँपालिका प्रमुख काफ्ले दुवै नेकपा निकट हुन् । बेलबारी नगर प्रमुख सुवेदीसँग राहतको बिषयमा फोनमा कुरा भएको कानेपोखरी अध्यक्ष काफ्ले पनि स्वीकार गर्छन् ।

राहत स्वीकार नगर्नुमा आधिकारीक जानकारीको कुरा बहाना मात्र भएको दाता डा.शर्माको बुझाई छ । डा. शर्माले अहिलेको अवस्थामा जनता नै सर्वपरी भएकाले गाउँपालिका अध्यक्षले राहत स्वीकार नगरेपनि कांग्रेसको तर्फबाट राहत बाँढ्ने बताएका छन् । राहत ग्रहण नगरेको घटनाले अहिले कानेपोखरीमा राजनीतिक असन्तुष्टि चुलिने संकेत पनि देखाएको छ ।

काँग्रेस कानेपोखरीले राहत ग्रहण नगरेको घटनालाई गंभीर त्रुटी र अक्षम्य घटनाको संज्ञा दिएर भत्सना गरेको छ । राहतमा नेकपाको मनोमानी बढेको भन्दै कानेपोखरी कांग्रेसले बिज्ञप्ति जारी गरेर अब राहत वितरणको एकद्वार प्रणाली उल्लंघन गर्ने चेतावनी दिए लगत्तै  कानेपोखरीमा कांग्रेसले राहत संकलनका लागि अभियान पनि थालिसकेको छ ।

गाउँपालिकाले बिज्ञप्ति जारी गरेर खातामा रकम जम्मा गर्न सकिने भएपनि बहनाबाजी गरेको आरोप लगाएको छ ।