पुर्वेली जनताका सहारा एवम् आशा र भरोसाका केन्द्र बन्दै डा. सुनिल शर्मा

  • १२ भाद्र २०७९, आईतवार

भनिन्छ, धन हुनेको मन हुँदैन र मन हुनेसँग धन हुँदैन । अर्थात्, धन र मन दुवै भएका मानव पाउन मुस्किल पर्छ । तर आफ्नै संघर्ष र पौरखबाट यी दुवै कुरा भएका ब्यक्ति हुन् डा. सुनील शर्मा ।

विराटनगर, काठमाडौँ र कोहलपुरमा गरी तीनवटा मेडिकल कलेज एवम् अस्पतालहरुका सञ्चालक डा. शर्मा व्यावसयिक रूपमा जति सफल हुँदै गएका छन्, खासगरी स्वास्थ्य क्षेत्र र राजनीति मार्फत समाज सेवामा गरेको योगदान र गरिब दुखीहरुको सेवाका कारण उनको ब्यक्तित्व झन् झन् उचाइतिर गइ रहेकोे छ ।

डा. शर्मा पछिल्लो समय प्रदेश–१ भरिकै लागि आशा र भरोसाका केन्द्र बनेका छन् । कसैलाई चोटपटक लागोस् या गम्भीर रोगले नै सताओस्, आर्थिक अवस्था कमजोर छ भने उनी पैसाको मुख हेर्दैनन् । जहाँ मानिसहरिलाइ संकट पर्छ, त्यहाँनिर मानवीयता सबैभन्दा पहिला आउनुपर्छ भन्ने मान्यता राख्ने शर्मा समाज र राष्ट्रलाई योगदान दिएका एवम् उपचार खर्च बेहोर्न नसकी रोग पालेर बस्न बाध्य भएका मानिसहरुका लागि आडभरोसा बनेका छन् ।

शर्माले आफ्नै लगानीमा सतार, चमार, डुम, झागड, मुसहरजस्ता जातिका ३ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाएका छन् । नेपालमै पहिलोपटक सतार समुदायका युवाले एमबीबीएस अध्ययन गरी डाक्टर बन्ने अवसर पनि उनकै पहलमा सम्भव भएको छ । त्यस्तै राष्ट्रका गहना मानिने खेलाडीदेखि समाजको सबैभन्दा किनारीकृत सतार समुदायलाई निःशुल्क स्वास्थ्योपचारको जिम्मा लिन सक्ने फराकिलो छाती भएका व्यवसायी पनि डा. शर्मा नै हुन् ।

शर्माले आफ्नै देशमा अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा दिन ठूलो जोखिम मोलेर लगानी बिस्तार गरिरहेका छन् । चिकित्साका विविध विधामा संसारको अत्याधुनिक प्रविधि र वरिष्ठ तथा अनुभवी चिकित्सक भित्र्याएर उनले सेवा बिस्तार गराइरहेका छन् । नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्योपचारको अन्तर्राष्ट्रिय हब एवं गन्तव्य बनाउने मूल ध्येयका साथ उनी रातोदिन खटिरहेका छन् ।

नोबेलमा मात्र एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिनिस्ट, डिफार्मलगायत संकायमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । स्थापनाको छोटो अवधिमै स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षाका क्षेत्रमा नोबेल एक प्रदेश–१ भरिकै पहिलो नम्बरको संस्था बन्दैछ ।

व्यावसायिक सफलताकै हिसाबले हेर्दा प्रदेश–१ कै प्रतिष्ठा बनेका डा. शर्माले पछिल्लो समय विराटनगरको नोबेल मेडिकल कलेजका अलावा काठमाडौँको केएमसी शिक्षण अस्पताल र कोहलपुरको नेपालगन्ज मेडिकल कलेजको पनि स्वामित्व किनेर सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । यही कारण पेसाले चिकित्सक भए पनि उनमा कुशल व्यवस्थापकीय क्षमता अझै बलियो छ भन्ने पुष्ठि भएको छ ।

मोरङमा मात्र वर्षमा करोडौँ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा नोबेल मेडिकल कलेजले दिइरहेको छ । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी नोबेलले प्रदेश–१ का बस्तीबस्तीमा पुगेर नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नोबेलले तराईका भित्री गाउँदेखि हिमाली जिल्लाका विकट ठाउँमा समेत स्वास्थ्यशिविर सञ्चालन गरेको  छ ।

गत वर्ष मात्रै शिविर र अस्पतालबाट नोबेलले हजारौं बिरामीको निःशुल्क उपचार गरेको छ । अस्पतालमै आएका ५५ हजार बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० रुपैयाँ बराबरको निःशुल्क सेवा दिएको छ । नोबेलले विपन्न नागरिक औषधि उपचार कोष, आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमामार्फत् पनि बिरामीलाई सहुलियतमा उपचार गर्दै आएको छ । कतिपय सरकारका यस्ता कार्यक्रमलाई सफल बनाउनसमेत यस संस्थाले सहयोग गरेको छ ।
संघीय सांसद बनेर योग्यता र अनुभव प्रयोग गर्न खोज्दै डा. शर्मा
सरकार निकम्मा साबित भएको देशका विभिन्न भागमा नोबेलजस्तै उम्दा शैक्षिक एवं स्वास्थ संस्था खोलिदिएर निजी क्षेत्रबाट भएपनि प्रभावकारी सेवा उपलब्ध गराउन माग हुने गरेको छ । पहिला सम्भावना खोज्दै देशका विभिन्न सहरमा पुग्ने डा. शर्मा जस्तै मानिसलाई अहिले देशका कुनाकन्दराले खोजिरिहेको छ ।

स्वास्थ्य र शिक्षामा उनको यो लगानी र प्रतिबद्धता हेर्दा लाग्छ – यो देशमा राज्यले गर्नुपर्ने काम उनले गरिरहेका छन् । शिक्षा र स्वास्थ्यमा राज्यले लिनुपर्ने दायित्व उनले आफ्नो काँधमा बोकेका छन् अर्थात् राज्यको धेरै ठूलो बोझ डा. शर्माले उठाइदिएका छन् । आफ्नो सेवाको दायरा अझै फराकिलो बनाउँदै डा. शर्मा राज्यका नीति निर्माणमा पनि आफ्नो योग्यता र अनुभवको भरपुर प्रयोग गर्न चाहन्छन् । त्यसैले डा। शर्मा जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको सदस्य बन्ने कसरतमा छन् ।

शर्माले आफ्नो गुजाराका लागि न सरकारी तलब कुरिरहनुपर्छ न त गाडी चढ्नका लागि कुनै भ्रष्टाचार वा कमिसन खानुपर्छ । बरु उल्टै उनले आफ्नो कमाइबाट समाज र देशको सेवा गरिरहेका छन् । अहिले देशभरि राजनीतिलाई निर्वाहमुखी पेसा बनाउनेहरुलाई विस्थापित गर्नुपर्ने अभियान नै चलेको छ ।

मोरङ–३ बाट नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने लगभग निश्चित देखिएको छ । चुनावमा यस गठबन्धनबाट उठ्न लागेका भए पनि उनलाई अन्य राजनीतिक दल, सामाजिक तथा पेसागत संघ संस्था र स्थानीय युवा क्लबसम्मले उत्तिकै रूचाएका छन् । उनले आफ्नो पेसा व्यवसायका माध्यमबाट सबै तह र तप्कालाई उत्तिकै गुन लगाएका छन् । अझ डा. शर्माको सफल व्यावसायिक छवि र सामाजिक सेवाको प्रभावकारण मोरङ–३ का बासिन्दाले यसपाली सांसद बनेको हेर्न चाहेका छन् ।

राजनीतिलाई गोरखधन्दा बनाउनेहरुलाई बिस्थापित गर्दै समाज र राष्ट्रका लागि विभिन्न आ-आफ्नो पेसागत क्षेत्रबाट योगदान गरेर चिनिएका व्यक्तिहरुलाई यसपालि चुनावमा छान्नुपर्ने मत जबरजस्त बन्दै छ । यस अभियानले पक्कै पनि चिकित्सक एवं शिक्षासेवी डा। शर्मालाई जिताउन मतदातालाई अभिप्रेरित गर्नेछ ।

अघिल्लो चुनावमा पनि शर्मा यही क्षेत्रबाट उम्मेदवार थिए । त्यतिखेर एमाले र माओवादीको गठबन्धन भए पनि एमालेका भानुभक्त ढकालसँग झिनो मतले उनी पछि परेका थिए । यसपालि एमाले एक्लै मैदानमा छ भने पार्टी पनि फुटेको छ । त्यसमाथि उनका त्यसबेलाका प्रतिस्पर्धी र यसपालीको चुनाव पनि त्यहीँबाट लड्ने कसरत गरिरहेका ढकाल स्वास्थ्यमन्त्री हुँदा विभिन्न प्रकरणमा विवादित भएको र आफू जितेको क्षेत्रका लागि केही पनि उल्लेख्य योगदान गर्न नसकेको कारण आलोचित छन् । त्यसैले यसपालि जो उठे पनि शर्मालाई चुनौती दिन निकै कठिन हुने देखिएको छ ।