मानव सेवा आश्रमद्वारा १० जना सडक मानवको उद्धार

  • ३० आश्विन २०८०, मंगलवार

असोज २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको टोलीले १० जनाको उद्धार गरेको छ ।

आनी छोइङ डोल्मा फाउण्डेसन­को सहकार्यमा सडकका बेसहाराहरुको उद्वार गर्न काकट्भिट्टाबाट यात्रा सुरु गरेको टोलीले सुरुङगा क्षेत्रसम्म आईपुग्दासम्म १० जना व्यक्तिको  उद्धार गरेको हो । ३ जना महिला, ६ जना पुरुष र १ जना बालिकाको उद्धार गरिएको मानव सेवा आश्रमले जनाएको छ ।

उद्धारको क्रममा मानव सेवा आश्रमका अभियन्तासँगै स्थानिय सरकार र प्रहरी प्रशासनको सहयोग लिएर सडकमा बेसहारा बसिरहेका व्यक्तिको उद्धार गरिएको हो। खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका  व्यक्तिलाई विभिन्न वडाहरुबाट उद्धार गरिएको संस्थाले जनाएको छ ।

उद्धार भएका सडक आश्रित व्यक्तिहरुलाई कन्काई नगरपालिकास्थित उद्योग वाणिज्य संघको भवनमा ल्याएर उनीहरुको सरसफाई, खानपान र लत्ताकपडाको व्यवस्थापन गरिएको थियो । उनीहरुको दिर्घकालिन व्यवस्थापनको लागि मानव सेवा आश्रमले विराटनगर स्थित आश्रममा पठाएको छ ।

मानव सेवा आश्रमका अध्यक्ष  रामजी अधिकारीले सडकमा बेसहारा भएका मानवको उद्धारले मानव सेवा आश्रम परिवारको सदस्य बढेको भन्दै  थप जिम्मेवारी बहन गर्न पाउँदा खुशी बढेको बताए  । आश्रमको यस उद्धार कार्यमा स्थानिय प्रहरी प्रशासन र स्थानिय सरकारले समेत हातेमालो गरेको छ।

कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले  यस्तो काममा स्थानिय सरकारको सहभागिता हुनुपर्ने र सरकार हरेक सहयोगको लागि तत्पर  रहेको बताए ।

यो उद्धार यात्रा आगामी मङसिर ४ गतेसम्म चल्नेछ । जसको क्रममा मेचीदेखि महाकालीसम्मका विभिन्न ठाँउहरुलाई समेट्ने लक्ष्य संस्थाको छ । यससँगै,स्थापनाकालदेखि हालसम्म करिब ९ हजार सडक मानवलाई आश्रय दिँदै आएको आश्रमले औषधोपचार, पालनपोषण, मनोविमर्श, प्रारम्भिक स्वास्थ्य तथा मनोचिकित्सकीय सेवा, सुधार भएका र सक्षमका लागि जीविकोपार्जन सम्बन्धी तालिम दिँदै आएको छ । यससँगै,  सुधारपश्चात् परिवारको खोजी, पारिवारिक पुनर्मिलन, पारिवारिक पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षणजस्ता सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।