सिंहदेवी सामुदायिक वनको १८ औं बार्षिक साधारणसभा सम्पन्न

  • १० माघ २०८०, बुधबार

केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र मनमाया मगरको बिशेष आतिथ्यतामा वनको आफ्नै हलमा साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्ण लुइँटेल, केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खा, देवीझोडा सामुदायिक वनका अध्यक्ष गोविन्द कार्की, बेलचौरी सामुदायिक वनका अध्यक्ष रामनारायण सुवेदी, सब डिभिजन वन कार्यालय केराबारीका होमनाथ न्यौपाने र तिर्थकुमारी अधिकारी, बुद्ध माविका अध्यक्ष छविलाल धमला, हिमालय साकोसका अध्यक्ष शिव लामिछाने, वडा सदस्यहरु लिलादेवी दास र सुमन ढकाल लगायतको उपस्थिति थियो । वनका सहसचिव दिल कार्कीले कार्यक्रम संचालन गरेका थिए ।
सबैजसो उपभोक्ताहरुको उत्साहजनक सहभागितामा भएको साधारणसभामा वनका अध्यक्ष भिम कार्कीले प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना, सचिव ज्ञानु बास्कोटाले संस्थगत प्रतिवेदन र कोषाध्यक्ष मनिषा सुवेदीले आर्थिक प्रतिवेदन र लेखा संयोजक बिनोद सुवेदीले आन्तरिक लेखा प्रतिवेदन, प्रस्तुत गरेका थिए । सो अबसरमा बुद्ध माविका विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
साधारणसभामा उपभोक्ताहरुमध्ये सबैभन्दा जेष्ठ चन्द्रमाया पौडेल रामप्रसाद बास्तोलालाई सम्मान गरिएको थियो । त्यसैगरी वनका पुर्व अध्यक्ष लालबहादुर कार्की, पुर्व सचिव वालकुमारी कट्टेल, अशोक सापकोटा, बिक्रम पण्डित र केन्द्रबहादुर खड्कालाई पनि सम्मान गरिएको थियो । साधारणसभामा चिट्ठा मार्फत उपभोक्ताहरुलाइ विभिन्न उपहार  पनि दिइएको थियो ।

सामुदायिक वनले बिगत एक बर्षे अबधिमा कार्ययोजना निर्माण तथा बिधान संशोधन, झाडी सफाइ तथा तारबार, चोरी तस्करी न्यूनीकरण, खानेपानी बिस्तारमा सहयोग, सामाजिक संघ संस्थाहरुलाइ सहयोग तथा प्राणघातक रोग उपचार सहयोग जस्ता कार्यक्रम गरेको थियो ।

आर्थिक बर्ष २०७९/०८० को अबधिमा यस सामुदायिक वनले ४४ लाख २८ हजार ७ सय २४ रुपैयाँ ४१ पैसा आम्दानी गरेको थियो । जसमा गोलिया सखुवा बिक्रीबाट ३० लाख ३४ हजार, ९ सय १७ रुपैयाँ, कुकाठ बिक्रीबाट ४ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ, खम्बा-तोक्चेबाट २२ हजार ६ सय ४४ रुपैयाँ र चिरानी काठ बिक्रीबाट ४ हजार ४ सय ९० रुपैयाँ प्राप्त भएको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी ४४ लाख २८ हजार ७ सय २४ रुपैयाँ ४१ पैसा खर्च गरेको सामुदायिक वनले केराबारी गाउँपालिकालाइ १ लाख २ सय ४२ रुपैयाँ राजस्व बुझाइएको, ४ लाख ७७ हजार ८ सय ६९ रुपैयाँ ४१ पैसा बैंक मौज्दात रहेको र १३ हजार ७ सय ३८७ रुपैयाँ नगद मौज्दात रहेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थामा ह्रासकट्टी गर्दा ६२ लाख ९९ हजार, ६ सय ९१ रुपैयाँ ७७ पैसा बराबरको स्थायी सम्पत्ति छ । प्रतिवेदन अनुसार संस्थामा ४ सय ११ क्युबिक फिट साल गोलिया, ७ सय ३९ क्युबिक फिट कुकाठ र ८.५ क्युबिक फिट जर्ना दाउरा मौज्दात छन् ।

अध्यक्षले साधारणसभामा ४६ लाख २१ हजार अनुमानित आम्दानी र स्थानीय सरकारलाई बुझाउने करमा ३ लाख ६१ हजार, ३३ रुपैयाँ, वन बिकासमा १८ लाख १० हजार ४ सय ३६ रुपैयाँ, संस्थागत बिकासमा १२ लाख ३० हजार तथा बिपन्न उद्यम, गरिबी न्यूनीकरण तथा महिला शसक्तिकरणका लागि १२ लाख ३० हजार रुपैयाँ अनुमानित खर्चसहितको भाबी कार्ययोजना प्रस्तुत गरेका थिए । जसमा प्राणघातक रोग उपचार सहयोग २० हजार र सर्पले डसेमा उपचारका लागि १ हजार ५ सय रुपैयाँ दिने उल्लेख छ ।
कुल २ सय ५० हेक्टर क्षेत्रफलमा रहेकोे सिंहदेवी सामुदायिक वनमा ३ सय ८३ घरधुरी उपभोक्ता छन् ।