सुकुना क्याम्पसको आयोजनामा त्रिपक्षीय अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

  • ३ जेष्ठ २०८१, बिहीबार

सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा आसाम डाउन टाउन युनिभर्सिटी, भारत र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको सहकार्यमा
त्रिपक्षीय वेबिनार सम्पन्न भएको छ ।
‘कक्षाकोठामा कृत्रिम बुद्धिमत्ता कार्यान्वयनका लागि अवसर’ (Opportunities for implementation of AI in the Classroom) विषयमा सम्पन्न उक्त वेबिनारमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट वि.आई.सि.टी.ई. कार्यक्रमका फोकल पर्सन इन्जिनियर सन्तोष दाहाल, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट कम्प्युटर टेक्नोलोजी सङ्कायका डीन डा. उत्पल वर्मन र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट आइक्युएसी का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेनले आ-आफ्नो प्रस्तुति दिनुभएको थियो ।
बिहीबार अर्थात जेठ ३ गते भएको कार्यक्रम सुकुना बहुमुखी क्याम्पसका शिक्षक उषाकिरण वाग्लेले सञ्चालन गर्नु भएको थियो ।
उक्त वेबिनारमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक नवराज कोइराला, शिक्षक तथा विद्यार्थीहरू सहित ५० जना, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट उक्त विश्व विद्यालयका उपकुलपति प्रा.डा. एन. सि. तालुकदार, विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरू, अन्तर्राष्ट्रिय मामिला विभागका सहायक निर्देशक सत्यब्रत शर्मा लगायत विद्यार्थीहरू सहित ५० जना र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट उक्त विश्वविद्यालयका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँ, IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेन, प्राध्यापकहरू र विद्यार्थीसहित ५० जना गरी जम्मा १५० जनाको अनलाईन उपस्थिति थियो ।
सुकुना बहुमुखी क्याम्पसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागको नेतृत्वमा आयोजित उक्त वेबिनार क्याम्पसले औपचारिक सम्बन्ध स्थापित गरेका विदेशी विश्वविद्यालयहरू सँगको सम्बन्धलाई मूर्त रुप दिन गरिएको पहिलो प्रयासका रुपमा लिइएको छ ।
एक घण्टा ३० मिनेट अवधिको सो वेबिनार युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेजका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँको मन्तव्य पश्चात समापन गरिएको थियो ।
यस कार्यक्रमबाट एक अर्का सँग भएको प्राविधिक ज्ञानको आदानप्रदान गरिएको र भविश्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा गरिने क्याम्पसका अधिकृत तथा क्याम्पसको राष्ट्रिय तथा अन्तराष्ट्रिय मामिला विभागका निर्देशक नवराज कोइरालाले जानकारी दिएका छन् ।