पथरीशनिश्चरे वडा नं. १ मा रोपिए करिब पांच सय बिरुवा

  • २९ जेष्ठ २०८१, मंगलवार

मोरङको पथरीशनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा करिब पाँच सय बिरुवा रोपिएको छ ।
वन तथा वातावरण संरक्षणमा सघाउ पुर्याउने उदेश्यले पथरीको यलम्बर, रत्न चोक, बुद्ध चोक र पथरी बहुमुखी क्याम्पस वीचको खाली जग्गामा पाँच सयभन्दा बढी वृक्षरोपन भएको हो । वृक्षारोपण अन्तरगत आप, लिची, मसला, सिरिस लगायत विभिन्न प्रजातिका पाँच सय विरुवा रोपिएको वडा अध्यक्ष भीमकुमार राईले बताए ।
वृक्ष रोपन कार्यक्रममा पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापकहरु, स्ववियु सभापति केशर राईको नेतृत्वमा विद्यार्थीहरु, सुनाखरी मावि विद्यालय सञ्चालक समिति अध्यक्ष प्रदिपकुमार राई, शान्ति सामुदायिक वन समितिको अध्यक्ष कुलमणी गुरुङ लगायत टोली, बिभिन्न संस्थाका प्रतिनिधिहरु, वडा सदस्यहरु शुरेस कार्की, बसन्ति गुरुङ, वडाका कर्मचारीहरु समेत लागेर आइतबार र सोमबार विरुवा रोपिएको हो ।
सो खाली जग्गामा यलम्बर पार्क, रत्नहरित बोटानिकल गार्डेन लगायत आकर्षक पर्यटक स्थल निर्माण गर्नुपर्ने प्रस्तावहरु आइरहेका छन् । सो खाली जग्गा नजिकै यलम्बर चोक र रत्न चोक रहेको छ । सो स्थानामा हरियाली सामुदायिक वनले यलम्बरको विशाल मूर्तिसहित सांस्कृतिक पार्क बनाउने योजना बनाएको छ ।