एक वर्षमा दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन
- ६ श्रावण २०८१, आईतवार
एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले ताप्लेजुङमा अबस्थित पाथीभरा देवीको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनामा एक हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेका छन् ।
बडादसैँपछि चैतेदसैँ (रामनवमी) का समयमा भारत र अन्य देशबाट पनि धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् ।
कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मङ्सिरमा २० हजार ४१६, पुसमा पाँच हजार ६५५ र माघमा छ हजार ४०१ जना, फागुनमा १७ हजार ९१२ र चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन् ।
जेठमा आठ हजार ६२९ र असारमा दुई हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।
तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न धनकुटाको मुलघाट हुँदै तमोर करिडोरबाट र झापाको बिर्तामोडबाट मेची राजमार्गबाट जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि देवीथान पुगिन्छ ।