असहाय विपन्नको दर्बिलो सहारा बन्दै डा. सुनिल शर्मा

  • १८ फाल्गुन २०८०, शुक्रबार

नेपाली राजनीतिको मात्र र होइन समाज सेवाको क्षेत्र विशेषतः असहाय विपन्नलाई निःशुल्क उपचार मा उनको नाम चर्चाको शिखरमा छ ।

डा.शर्माले सुदूर पूर्वदेखि सुदूरपश्चिम र तराईदेखि हिमालसम्मका स्थानीयको स्वास्थ्य उपचारका लागि संवेदनशील हुँदै सक्रियता पनि उत्तिकै बढाउँदै लगेका छन् । अझ आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरूका लागि डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् भन्दा फरक नपर्ला।
लामो समयदेखि असहाय विपन्नलाई निःशुल्क उपचारमा सक्रिय रहँदै आएका डा.सुनिल शर्मा २०७९ मा भारी मतान्तरका साथ निर्वाचित हुँदै संसद् भवनमा प्रवेश गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि बिरामीले आर्थिक अभावमा उपचार नपाएर थला पर्दा मेडिकल व्यवसायीसमेत रहेका सांसद डा.शर्मा आफैँ खटिन्छन् ।

बिरामीलाई घरमै पुगेर एम्बुलेन्समा अस्पताल लैजान्छन् र निको गराएर पठाउँछन् । स्थानीयलाई स्वास्थ्य सेवामा सहुलियत दिइरहेका उनले निर्वाचन क्षेत्रका विभिन्न गाउँमा नियमित स्वास्थ्य शिविर चलाउँछन् ।

विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निःशुल्क ३० बेडको व्यवस्था तथा काठमाडौँस्थित सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका मतदाताका लागि निःशुल्क उपचारको व्यवस्थासहित १५ शय्याको कक्ष उपलब्ध गराइदिएका छन् ।

यो त उनको चुनावी प्रतिबद्धता नै थियो, जुन पूरा गरे । त्यसैले उनीबाट जीवनदान पाएकोमा खुसी हुनेहरूको सङ्ख्या टोल टोलमा सयौँ छन् । आफ्नो निर्वाचन क्षेत्र मात्र होइन देशैभर उनी दौडाहामा लागेका छन् ।

देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उपचारलाई सहज बनाइरहेका उनले असहाय विपन्नलाई काठमाडौँ मेडिकल कलेज र नोबेल अस्पताल निःशुल्क उपचार सेवा पनि दिइरहेका छन् । त्यसैले त उनको चौतर्फी तारिफ भइरहेको छ ।

नेता डा. भण्डारीले लेखेका छन्, ‘धनको धनी मात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दो रहेछ । सबैतिर अस्पताल मात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्ने चाहना पनि हुनुपर्ने रहेछ । डा.सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँलाई निःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन् । विकट क्षेत्रका बिरामीलाई सिनामंगलको केएमसीमा ल्याएर निःशुल्क उपचार पनि गराएका छन् । यसरी नै सबै मेडिकल कलेजहरूले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउने थियो । डा.सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्मपरायण रहेछन् । उहाँको यस कार्यप्रति म हृदय तः कृतज्ञता प्रकट गर्दछु ।’

संसदमा पनि उनको भूमिका निकै सक्रिय छ । उनी कुनै आश्वासन तथा स्टण्टबाजी गरेर चर्चाका आउन चाहने छविका होइनन् । भ्रष्टाचारविरुद्ध खरो रूपमा उत्रिन्छन्, चाहे त्यो जुनसुकै पार्टीको होस् । सरकारमा रहेका अन्य दलका अधिकांश सांसद तथा नेताहरू भ्रष्टाचारी जोगाउने सरकारको चाकडीमै व्यस्त रहँदा सांसद शर्माले भने संसद् भवन प्रवेश गरेपछि निरन्तर आवाज उठाइरहे ।

पछिल्लो समय दलहरू सत्ता केन्द्रित भएर नेपालको राजनीतिप्रति वितृष्णा बढिरहँदा सांसद शर्मा भने देशभरका आम नागरिकबिच ‘हाई हाई’को पात्र बनेका छन् । पार्टी नेता र कार्यकर्ताको भेटमा अल्झिएर नबस्ने हक्की स्वभावका डा.सुनिल शर्मा जनताका घरघरमा पुग्छन् र गुनासो टिपोट गर्छन् । साथै त्यसको तत्काल समाधान पनि गर्ने क्षमता राख्छन् ।