लेटाङमा सर्पको टोकाइबाट बालिकाको निधन, उत्तरी मोरङमा जटिल समस्या बन्दै सर्पदंश
- १ मंसिर २०८१, शनिबार
सर्पको टोकाइका कारण लेटाङ नगरपालिका वडा नम्बर ३ की म एरुसा माखिम मगरको मृत्यु भएको छ।
शान्ती भगवति माविमा कक्षा ४ मा अध्ययनरत वालिकाको सर्पको टोकाइबाट बुधबार मृत्यु भएको हो । घटनाले परिवारजन र आफन्त मात्रै होइन, सिंगो लेटाङ नै शोकमा छ ।
लेटाङमा एक दशकभन्दा बढी समयदेखि स्थापित सर्पदंश उपचार केन्द्र रहे पनि यसको अवस्था दयनीय रहेको र पर्याप्त जनशक्ति तथा आवश्यक औषधिको अभावका कारण यसले प्रभावकारी सेवा दिन सकेको छैन।
सर्पदंश जस्तो संवेदनशील क्षेत्रमा समयमै उपचार उपलब्ध नहुँदा बालबालिका र वृद्धवृद्धा जस्ता संवेदनशील समूहका व्यक्तिहरू बढी प्रभावित हुने गरेका छन्। स्थानीय बासिन्दाले लेटाङमा तत्काल सर्पदंश उपचार सेवालाई स्तरोन्नतिको माग गरेका छन् ।
त्यसो त लेटाङमा मात्रै होइन, उत्तरी मोरङमै सर्पदंश जटिल समस्या बन्दै गएको छ । केराबारी, मिक्लाजुङ आदि पालिकाहरुमा पनि सर्पको टोकाइको उपचार केन्द्र प्रभावकारी छैनन् ।