बेलबारीमा क्यान्सरजन्य रोगका बिरामीहरु बढ्दै, उपचार खर्च दिँदै नगरपालिका
- ६ माघ २०८१, आईतवार
क्यान्सरजन्य नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दै जाँदा त्यस्ता बिरामीहरुलाइ उपचार खर्च दिने बेलबारी नगरपालिकाको कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
जनप्रतिनिधिको अघिल्लो कार्यकालमा शुरु गरिएको जटिल रोगका बिरामीलाइ औषधि उपचार खर्च दिने कार्यक्रम प्रभावकारी देखिएको हो । बिक्रम सम्बत २०७४ सालमा ज्ञानेन्द्र सुवेदीको नेतृत्वमा जनप्रतिनिधि भएको बेला कार्यपालिका बैठकको निर्णयबाट नगरपालिकाले प्राणघातक रोगहरु. क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनल कड इन्जुरी लगायतकाका बिरामीलाई २५ हजारका दरले उपचार खर्च दिने निर्णय गरेको थियो । पहिलो बर्ष ६२ जना बिरामीले २५ हजारका दरले यस्तो उपचार खर्च पाएका थिए । कार्यपालिका बैठकको निर्णयका आधारमा नगरपालिकाले २०७९ सालसम्म २५ हजारको दरले उपचार खर्च उपलब्ध गराएको थियो ।
बिक्रम सम्बत २०७५ देखि २०७८ सालको अन्त्यसम्म त्यसबेला क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ६९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित ५ सय ३३ बिरामी फेला परेका थिए । चार बर्षको अबधिमा क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनल कड इन्जुरी लगायतका रोग लागेका ५ सय ३३ जना बिरामीलाइ जनही २५ हजारको दरले उपचार खर्च दिँदा १ करोड ३३ लाख २५ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक बर्ष २०७९/०८० सम्ममा उपचार खर्च लिनेको संख्या ६ सय ७५ जना पुगेको थियो ।
दोस्रो कार्यकालका लागि दिलप्रसाद राइको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएपछि कार्यबिधि नै बनाएर क्यान्सरजन्य रोगहरु मुटुको शल्यक्रिया, मृगौला डाइलोसिस तथा प्रत्यारोपण, मेरुदण्ड पक्षघात, हेड इन्जुरी, बोनम्यारो, क्यान्सर, प्यारालाइसिस, सिकलसेल र एनेमिया रोगका बिरामीलाई दिइने उपचार खर्च ४० हजार पुर्याइएको छ ।
जनता उपचार सहायता कार्यक्रमका लागि कार्यबिधि नै बनाएर बिक्रम सम्बत २०७९ सालको अन्त्यदेखि नगरपालिकाले क्यान्सरजन्य रोगका त्यस्ता बिरामीलाइ उपचार खर्च दिने गरेको छ । नगरपालिकाले कार्यबिधि बनापछि नसर्ने क्यान्सरजन्य रोगहरु मुटुको शल्यक्रिया, मृगौला डाइलोसिस तथा प्रत्यारोपण, मेरुदण्ड पक्षघात, हेड इन्जुरी, बोनम्यारो, क्यान्सर, प्यारालाइसिस, सिकलसेल र एनेमिया रोगका बिरामीले ४० हजारसम्म उपचार खर्च पाउँदै आएको नगरपालिकाका मेयर दिल प्रसाद राई ले बताए ।
आर्थिक बर्ष २०८०/०८१ को अबधिमा १ सय ८१ जना बिरामीले यस बर्षको प्रथम चौमासिक अबधिभित्र नगरपालिकाबाट १ सय ७१ जनाले औषधि उपचार खर्च लिएको नगरपालिकाको तथ्यांक छ । बिक्रम सम्बत २०७४ सालदेखि २०८१ को प्रथम चौमासिक अबधिसम्ममा ९ सय ८० जनाले उपचार खर्च लिएको जनप्रतिनिधिको अघिल्लो कार्यकालमै सार्बजमिक भएको र हाल नगरपालिकाबाट उपलब्ध गराइएको तथ्याङ्कबाट देखिन्छ । तर नगरपालिकाले जनप्रतिनिधिहरुको कार्यकालको तथ्याङ्कलाइ लक्षित गरी विवरणहरु मात्र अद्याबधिक गर्ने गरेकोले अघिल्लो कार्यकालका जनप्रतिनिधि हुँदा यो सुबिधा लिएका बिरामीहरुको सबै तथ्याङ्क ब्यबस्थित रुपमा अद्याबधिक गरिएको पाइंदैन ।
त्यसो त नगर क्षेत्रभित्र पछिल्लो समय क्यान्सरजन्य नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दै गएको छ । बर्षेनी उपचार खर्च लिने बिरामीहरुको संख्या बढ्दै जाँदा त्यस्ता रोगहरुको रोकथाम न्यूनिकरणका उपायहरु खोज्नुपर्ने अबस्था देखिएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्नै नदिने उपायहरु खोज्नु जरुरी देखिएको छ । क्यान्सरजन्य नसन रोगहरुबाट बच्न के के गर्नुपर्छ ? अनि त्यस्ता रोगहरुको लाग्नै नदिनका लागि नगरपालिकाको योजना र रणनिति के कस्तो छ त ? , बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई ……..
अर्कोतर्फ नेपाल सरकारले क्यान्सर, मुगौला डाइलोसिस,तथा प्रत्यारोपण,र मेरुदण्ड पक्षघातका बिरामीहरुलाइ स्थानीय पालिका मार्फत मासिक ५ हजारका दरले औषधि उपचार खर्च दिने गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को अबधिमा १ सय ८१ जनाले नगरपालिका मार्फत सो उपचार खर्च लिएका थिए । यस आर्थिक बर्षको साउनदेखि कार्तिकसम्ममा नगर क्षेत्रका १ सय ७१ जनाले औषधि उपचार खर्च लिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख सन्तोष बिश्वकर्माले जानकारी दिए ।



