केराबारीका चार सहकारी संस्थाहरुबिच एकीकरण हुँदै
- ३ फाल्गुन २०८१, शनिबार
मोरङको केराबारी गाउँपालिकाका चारवटा सहकारी संस्थाहरु एकीकृत हुने भएका छन् ।
केराबारी गाउँपालिका वडा नम्बर १० र ८ मा रहेका चार सहकारी संस्थाहरु एकीकरण हुने भएका हुन् । एकीकरण हुन लागेका संस्थाहरुमा केराबारीकै पुरानो सामुदायिक साकोस, खदम हिल साकोस, लक्षित समृद्धि सहकारी र शुभारम्भ साकोस छन् ।
चारवटा सहकारी संस्थाहरुलाइ एकीकरणका लागि केराबारी गाउँपालिकाले पुर्व स्वीकृति प्रदान गरेको छ । गाउँपालिकाले पुर्व स्वीकृति दिएसँगै बिन्दाकुमारी तामाङकै अध्यक्षतामा उत्तरी मोरङ साकोसको १३ सदस्यीय तदर्थ संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । तदर्थ समितिमा मनोजकुमार खड्का उपाध्यक्ष, अम्बिका भण्डारी सचिव र मनुषा ढकाल कोषाध्यक्ष छन् । सदस्यहरुमा नन्दलाल बस्नेत, महाप्रसाद लुइँटेल, इन्दिरा थापा (बराल), बिमला तामाङ, टेकुमाया खड्का, छत्र लिम्बू, गोमादेवी चौहान, सरोज रोका र रमानाथ फुयाल छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा सुर्य थापा संयोजक तथा मुना घिमिरे र कौसिला पौडेल सदस्य छन् ।
ती संस्थाहरुले संयुक्त एकीकरण समिति हुँदै हाल तदर्थ समिति मार्फत नयाँ बन्ने संस्थाको नाम, ठेगाना, प्रयोग गर्ने पान नम्बर, कार्यक्षेत्र लगायतका बिषय समेत टुंगो लगाइ एकीकरणका लागि केराबारी गाउँपालिकाबाट पुर्व स्वीकृति समेत लिइसकेका छन् । एकीकृत हुन लागेका सहकारीहरुबिच चारवटा सहकारी संस्थाहरु एकीकृत भई बन्ने नयाँ सहकारीको नाम केराबारी वचत तथा ऋण सहकारी संस्था लि. राख्ने सहमति भएको प्रस्तावित केराबारी साकोष तदर्थ संचालक समितिका सचिव अम्बिका भण्डारीले जानकारी दिए ।
केराबारी गाउँपालिकाबाट पुर्वस्वीकृति प्राप्त भएसँगै एकीकृत कारोबार शुरु गर्ने तयारीस्वरुप चारवटै सहकारी संस्थाहरुले माघ २५ गतेदेखि दैनिक बचत संकलन बन्द गरेका छन् । त्यसैगरी फागुन १ गतेदेखि १७ गतेसम्मका लागि चारवटै सहकारी संस्थाहरुको सम्पुर्ण कारोबार बन्द गरी हाल लेखापरीक्षण लगायत एकीकरणका अन्य काम भइरहेको र फागुन ११८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने तयारी भइरहेको केराबारी वचत तथा ऋण सहकारी संस्था लिं को तदर्थ समिति अध्यक्ष बिन्दाकुमारी तामाङ (श्रेष्ठ) ले जानकारी दिइन् ।
यसअघि एकीकरण समितिको बैठकले एकीकृत हुने प्रक्रियामा रहेका सहकारीका अध्यक्षहर सम्मिलित ५ सदस्यीय विवाद समाधान समिति गठन गरेको छ । समितिमा सामुदायिक साकोसकी अध्यक्ष बिन्दाकुमारी तामाङ, खदम हिल साकोसका अध्यक्ष मनोजकुमार खड्का र उपाध्यक्ष प्रकाश बस्नेत, लक्षित समृद्धि साकोसका अध्यक्ष महाप्रसाद लुइँटेल र शुभारम्भ सहकारीका अध्यक्ष नन्दलाल बस्नेत सदस्य छन् ।
बैठकले मनुषा घिमिरे (ढकाल) को संयोजकत्वमा ५ सदस्यीय दायित्व मुल्यांकन समिति र अम्बिका भण्डारीको संयोजकत्वमा ५ सदस्यीय बिनिमय संशोधन तथा परिमार्जन समिति समेत गठन गरेको गरिसकेको छ ।
करिब दुई बर्षअघि शुरुमा खदम हिल साकोसको अगुवाइमा संयुक्त भेला गरी सहकारी संस्था एकीकरणको पहल शुरु भएको थियो । त्यसैबेला सहकारी एकीकरणको प्रयासका लागि सामुदायिक साकोसकी अध्यक्ष बिन्दाकुमारी तामाङको संयोजकत्वमा ७ सदस्यीय एकीकरण समिति गठन समेत भएको थियो । शुरुमा ७ वटा सहकारी संस्थाहरु एकीकरणको छलफलमा सहभागी भएपनि आर्थिक बर्ष २०७९/०८० को बार्षिक साधारणसभाबाट चारवटा संस्थाले मात्रै एकीकरणमा जाने निर्णय गरेका थिए ।



