प्रभात एफ.सी. र देवीगन्ज एफ.सी. पथरी अन्तर क्लब फुटबलको फाइनलमा
- २७ बैशाख २०८२, शनिबार


पथरी शनिश्चरेमा जारी नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा देवीगञ्ज फुटबल क्लब विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ ।
दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देवीगञ्जले फाईनल यात्रा तय गर्दै प्रभात एफ.सी. सँगको भेट पक्का गरेको हो ।
पहिलो हाफसम्म निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टिमले गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल हुन सकेन ।
देवीगञ्जका स्ट्राईकर मिक्सन दासले खेलको ४७ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ५ मिनेटमा मिक्सनले दोस्रो गोल गर्दै देवीगञ्जलाई २–० को अग्रता दिलाए । यस्तै दोस्रो हाफमा एकतर्फी बनेको खेलको ६५ औं मिनेटमा देविगञ्जका क्याप्टेन सन्तोष न्यौपानेले १ गोल थपेका थिए भने ६८ औं मिनेटमा मिक्सनले ह्याट्रिक पूरा गर्दै आफ्नो टिमलाई ४–० अग्रता दिलाए । दोस्रो हाफको समाप्तीसँगै थप गरिएको अतिरिक्त समयमा देवीगञ्जका खेलाडी छोसाङ गुरुङले १ गोल गरेका थिए ।
अन्ततः ५–० को अन्तिम नतिजासँगै खेलको म्यान अफ द म्याच देवीगञ्जका ह्याट्रिककर्ता मिक्सन दास घोषित भए । उनले नगद रु २ हजार सहित ट्रफी र मेडल प्राप्त गरे । प्रतियोगिताको फाईनल खेल वैशाख ३० गते प्रभात एफ.सी. र र देविगञ्ज एफ.सी. बिच हुनेछ ।









