करोडौं लागतमा बिराटचोकमा बन्ने भयो अत्याधुनिक र नेपालकै नमूना वाकिङ स्ट्रीट

  • ४ जेष्ठ २०७५, शुक्रबार

केही  समय अघि नगरका विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक शौचालय निर्माण अभियान थालिएको सुन्दरहरैंचामा फेरि अर्को नमुना काम सुरु गरिने भएको छ ।

स्थानीय व्यवसायी तथा समाजसेवी र नगरपालिकाको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा पूर्वमै पहिलोपटक वाकिङ स्ट्रीट बनाउन सुरु गरिएको हो । यो वाकिङ स्ट्रीट पनि अन्तर्राष्ट्रिय स्तरको नेपालकै नमुना हुने निर्माण समितिका सदस्य नारायण कार्कीले जानकारी दिए ।

कस्तो बन्नेछ वाकिङ स्ट्रीट ? 

पहिलो चरणमा विराटचोकको मुख्य चोकबाट दक्षिणतर्फ ५ सय मिटर लामो वाकिङ स्ट्रीट बनाउन लागिएको हो । जसअन्तरगत अहिले रहेको हरैंचातर्फ जाने बाटो टु वे हुने छ । जुन ७ मिटर चौडाइको रहनेछ । यस्तै दुवैतर्फ १५–१५ फिट चौडाइको फुटपाथ र बगैँचा निर्माण गरिनेछ ।

जहाँ विभिन्न आकर्षक बिरुवाहरू, पानीको फोहोरा, बस्ने फलैंचा लगायत निर्माण गरिनेछ । वाकिङ स्ट्रीट धूलोमुक्त हुनेछ भने यस क्षेत्रमा रहेका घरहरूमा एउटै प्रकारको रङ लगाइने छ । एउटै रङ लगाउने निर्णय भए पनि कुन रङ लगाउने भन्ने बारे निर्णय भई नसकेको कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले जानकारी दिए ।

वाकिङ स्ट्रीट क्षेत्रमा अपरान्ह ४ बजेपछि रातको ११ बजेसम्म बजार लाग्नेछ । जुन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने छ । साना निजी सवारी साधन भने सञ्चालन गर्न पाइने चापगाईंले बताए । सो समयमा ठुलो सवारी साधनले खोर्साने, हरैंचामोड तथा बुधबारेको बाइपास बाटो प्रयोग गर्न सक्नेछन् ।

कति लाग्छ लागत ? 

वाकिङ स्ट्रीट बनाउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ लागत लाग्नेछ । जसअन्तरगत नगरपालिकाबाट ५०,००,००० उपभोक्ताबाट ४९,२०,००० र  अन्य श्रोतबाट ३८,३०,००० गरी जम्मा १,३७,५०,००० लागत जुटाउने निर्माण समितिले जनाएको छ । वाकिङ स्ट्रीटका लागि जेठ १ गतेदेखि प्राविधिक काम सुरु भइसकेको छ ।  अब आउँसो असार २५ गते भित्र नै वाकिङ स्ट्रीट निर्माण सम्पन्न हुने समितिको दाबी छ ।

यसरी वाकिङ स्ट्रीट निर्माण भएपछि यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने स्थानीय व्यवसायीको अपेक्षा छ । यस क्षेत्रमा रातीको ११ बजेसम्म बजार लाग्ने छ । जसका कारण असपासका इटहरी, विराटनगर, बेलवारी, पथरी लगायतका क्षेत्रबाट मानिसहरू किनमेलका लागि आउनसक्ने अपेक्षा गरिएको छ ।

अन्य विभिन्न मुलुकको भ्रमणका क्रममा देखेपछि विराटचोकमा पनि वाकिङ स्ट्रीट निर्माण गर्ने अवधारणा आएको अध्यक्ष चापागाईंको भनाइ छ । यसअघि सुरु गरिएको अत्याधुनिक सार्वजनिक शौचालन निर्माणको अभियान समेत अहिले जारी रहेको उनी बताउँछन् । खोर्साने, विराटचोक, हरैंचा र सलकपुरमा शौचालय निर्माणको काम तीव्र गतिमा अघि बढेको उनले जानकारी दिए । – रेवती निरौला