भत्केको बर्षदिन नाघ्दा पनि बन्नै थालेन लोहोन्द्राको पुल, खोलो तर्दा बगाउला कि भन्ने पिरलो

  • २५ भाद्र २०७५, सोमबार

उत्तम पोख्रेल, मोरङ / मोरङ बेलबारी नगरपालिकास्थित लोहान्द्रा खोलाको पुल बाढीले बगाएको एक वर्ष बित्यो । मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुकोे अनुगमन भने पटक-पटक भयो । केही दिन अघि मात्रै ऊर्जा मन्त्री बर्षमान पुनले पनि पुल रहेको स्थानको निरीक्षण गरे ।

गत वर्षको साउन २८ गते बर्षासँगै आएको बाढीले बेलबारी नगरपालिका वडा नम्बर- ५ मा पर्ने लोहान्द्रा खोलाको पुल बगाएको हो । पुल बगाएको एक वर्ष पुरा हुँदा समेत सो पुल बन्ने अत्तोपत्तो छैन ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाएपछि स्थानीयको वडा कार्यालयसँगको सम्बन्ध नै टुटेको छ । एक डेढ किलो मिटर पार गरेर वडा कार्यालय आई पुग्ने भए पनि अहिले पुल बगाएपछि करिब २१ किलो मिटर घुमेर मात्रै वडा कार्यालमा पुग्ने बाध्यता रहेको छ । सुन्दरहरैचा नगरपालिका तथा गा्रमथान गाँउपालिका घुमेर मात्रै वडा कार्यालमा पुग्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

१५३ मिटर लामो साइफन माथिबाट बग्ने लोहान्द्राको पुल बगाएपछि केरौन चौकबाट इटहरी–विराटनगर सडक खण्डको खनारसँग जोड्ने सडकमा समेत यातायात बन्द छ । विराटनगर बाहुनी होक्लावारी, बिराटनगर बाहुनी लक्ष्मी मार्ग बेलबारी ग्रामथान जोडने मुख्य सडक समेत अबरुद्ध छन ।  पुल बगाउँदा झण्डै ३४ करोड क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाले जनाएको छ ।

बेलबारी नगरपालिकाले पहिलो तथा दोसा्रे नगरसभाबाटै पुल बनाउनका लागि प्रदेश तथा सघिय सरकारसग अनुरोध गरिसकेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बताए । ‘हामीले दुई वटै सरकारलाई पुल बनाउनका लागि आग्रह गरेका छौँ’ मेयर सुबेदीले भने ‘मन्त्रालय पनि धेरै पटक धाइसेकेका छौँ ।’ – नयाँ पत्रिकाबाट