बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

  • ७ मंसिर २०७५, शुक्रबार

मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको  छ ।

उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ ।

नयाँ प्रविधी र शैलीका साथ संभवत पुर्वी नेपालमै पहिलो ‘मिट–मार्ट’ खोलिएको सञ्चालक बेलबारी ४ का मिलन गुरुङले बताए ।

वैदेशिक रोजगारका लागि कतारमा रहँदा फुड सेन्टरमा काम गरेको ६ वर्षको अनुभव र त्यसपछि नेपालमै ७ वर्ष भन्दा वढि समय कुखुरापालन गर्दाको अनुभव पश्चात ‘मिट–मार्ट’ सूरु गरेको गूरुङको भनाई छ ।

मासुका सबै खालका परिकारहरुको शुद्धता र पौष्टिकता सुरक्षित रहने गरी फ्रोजन, र्यापिङ तथा प्याकिङ गरिएका मासु बिक्री गरिने गरेको गुरुङले बताए । यसरी प्याकिङ गरिएको मासुमा ताजापन रहने तथा हानीकारक व्याक्टेरियाहरु पनि नरहने गूरुङको दावी छ ।

‘मिट–मार्ट’ मा खसी तथा कुखुराको मासुका विभिन्न परिकारहरु बोनलेस, स्किनलेस, होल चिकेन, विङ्स, बोनलेस फिस लगायत, नेपाली मौलिक परिकार लोकल कुखुराको तिते तथा खसीको भुटन लगायतका परिकार उपलब्ध छन् ।

आफैले सञ्चालन गरेको एकता कृषि फारमका उत्पादन साथै अन्य फर्महरुका उत्पादनहरु ल्याएर माग पुरा गर्ने गुरुङको भनाई छ । ‘मिट–मार्ट’ का लागि हालसम्म ३० लाख रुपैयाँ भन्दा धेरै खर्च भएको गुरुङले जानकारी दिए ।