एउटा त्यस्तो नगरपालिका, जसले तीन सय ६० वटा भैंसीलाई दिइसक्यो ‘सुत्केरी भत्ता’

पाडा वा पाडीको जन्मदर्ता पनि गरिंदै

  • ३ माघ २०७५, बिहीबार

पनौती नगरपालिकाले आफ्नो क्षेत्रका तीन सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ ।

नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ ।

नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन्  । उनलेे  यस वर्ष भैँसी संरक्षण अभियानअन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेको बताए । नगरपालिकाका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्यरूपमा बीमा गरेको हुनुपर्छ ।

 

जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ ।

कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिश र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ ।

नगरले चालू आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताए । उनले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेको बताए ।

नगरपालिकाका अनुसार नगरमा हाल चार हजार ६ सय ४७ वटा भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पु¥याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।