सहयोग समेत आफन्तले खाइदिएपछि बेलबारीका एक वृद्धको बिजोग, स्थानीयद्वारा उद्वार
- २४ माघ २०७५, बिहीबार
केशु विरही, बेलबारी, मोरङ /विगत तीन वर्षदेखि भत्किएर खण्डहरको रुपमा परिणत भएकाे घरमा बस्दै आएका बेलबारी नगरपालिका वार्ड नं ४ सखुवाटोलीका ७५ वर्षीय वृद्ध कदमलाल खवासलाई स्थानीयहरुले उद्धार गरेका छन् ।
९-१० वर्ष अघि श्रीमतीको मृत्यु पश्चात् एक्लै रहेका खवास विगत ३ वर्षदेखि त्यही भत्किएर खण्डहरमा परिणत भैसकेको घरको पालिमा बोराले बारेर बसिरहेको अवस्थामा स्थानीयले उनलाई उद्धार गरेका हुन् ।
उनी बसिरहेकाे ठाउँ हेर्दा एउटा बस्तु बाँध्ने थलाेभन्दा पनि तल्लाेस्तरकाे देखिन्थ्याे । उनी सुतिरहेकाे ओछ्यान पल्टाउँदा वरिपरि वातावरण नै दुर्गन्धित वनेकाे थियाे । यस्ताे ठाउँमा मानिस तीनवर्षदेखि वसिरहेका छन भन्दा पत्याउनै कठिन हुन्थ्याे ।
केही दिनअघिमात्र स्थानीय चन्द्र लिम्बू र युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेतले रकम जुटाएर निज वृद्धालाई एकसरो लाउने र ओढ्ने ओछ्याउने कपडा वितरण गरेका थिए । त्यसपछि मात्र वृद्धाकाे याे अवस्थाकाे वारेमा जानकारी बाहिर आएकाे थियाे ।
खवासका कुनै सन्तान छैनन् । झन श्रीमतीकाे मृत्युपछि विल्कुल एक्लै वनेका उनी लामो समयदेखि विरामी भएर थला परिरहेकाे थाहा पाएर आफूहरुले कपडा किनेर दिएकाे स्थानीय चन्द्र लिम्बू वताउछन् ।
उनी लामो समयदेखि ज्वरोले थलिएका रहेछन् । दवाई औषधी त टाढैको कुरो हो, उनलाई तातो पानी समेत दिने मानिस समेत कोही थिएनन् । दिउंसो ११ वजेतिर उद्धार टाेली त्यहाँ पुग्दा उनी त्यही खण्डहरभित्र सुतिरहेका थिए । सोधखोज गरेपछि उनी विस्तारै उठे र आफू केही दिनदेखि ज्वरोले थला परेको वताए । खाना खानुभो भन्ने हाम्रो प्रश्नमा उनले प्लाष्टिकमा झुण्ड्याइएको वासी भाततिर देखाउँदै भने – ऊ खाना त्यहाँ छ ।”
यति भनेर उनी त्यही बासीजस्ताे देखिने चिसाे खाना खाना लागे । हामीले “चिसो छ नखानुहोस्” भनेपछि उनले खान छाडे ।
यस्तो दयनीय अवस्थामा आफ्ना नागरिक रहँदासम्म पनि जनप्रतिनिधिले थाहा नपाउनु र कुनै कदम नचाल्नु दुखद रहेको स्थानीय झमेल चौधरी वताउँछन् ।
वृद्ध खवास बस्दै अाएकाे जग्गा पनि अर्कैकाे नाममा
वृद्ध खवास लामाे समयदेखि बस्दै आएको खण्डहरु वनेको घर भएको जग्गा पनि अर्कैको नाममा रहेको स्थानीय वताउँछन् । त्यहाँ उनी विगत लामाे समय देखि बस्तै अाएका छन् । झण्डै एकजुग नै भयाे उनी त्यहाँ घर वनाएर बसेकाे । त्यही घर भएकाे जग्गा पनि छिमेकीको चेपोमा परेर साँघुरिदै गएको स्थानीय वताउँछन् ।
वडाले दिएका जस्ता आंगनमा, पैसा आफन्तकाे हातमा
स्थानीयपालिकाले वास्ता गरेन भन्ने अाराेप स्थानीयले लाईरहँदा हाम्राे टाेलीले बास्तविकता बुझ्ने प्रयास गर्याे । घर वनाउँन भनेर बेलबारी नगरपालिका वार्ड नं ४ ले यसै वर्ष जस्तापाता र रु ५००० समेत उनलाई दिएको रहेछ । तर त्याे रकम भने उनले पाएका रहेनछन् । उनका भतिज पर्ने विनाेद खवासले नगरपालिकाले दिएकाे उक्त रकम चलाइरहेको स्थानीयबाटै थाहा लाग्याे ।
यस्ता आफन्त नहुनेका लागि राज्यले अभिभावकत्वको भूभिका निभाउनु पर्ने युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेत वताउँछन । तर देशमा तीन तहका सरकार हुँदा समेत नागरिक यस्ताे दयनीय अवस्थामा पुग्दा पनि राज्यकाे अाँखा नपुग्नुले राज्य कहाँ छ भन्ने प्रश्न खडा गरेकाे अध्यक्ष बस्नेतकाे मत रहेकाे छ ।