चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’

  • २९ माघ २०७५, मंगलवार

नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि  मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन्  ।
उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन ब्यतित गरिरहेका हुन्  । उनीहरु विगत दुई वर्षदेखि खोलाको किनारामा बस्दै आएका छन् । छोराहरुले हेरेनन्, भक्तमायाले भनिन् ‘मर्न काल पनि आँउदैन, हातिले आएर पनि मार्दैन ।’

भक्तमायाका अनुसार उनीहरूको डेढ विगाह जग्गा थियो । तर छोराहरुलाई अंश दिएपछि उनीहरूले  घरवाट निकाली दिए । भक्तमायाले रुंदै भनिन् – ‘कसले के ल्यादिन्छ र खाउंला भनेर वाटो हेरेर वस्छौं ।’
पोख्रेल दम्पतिका ७ भाई छोरा र दुई वहिनी छोरी छन्  । केही भाई छोरा बेलबारी नगर क्षेेेत्रमा नै छन् भने केहि भाई उदयपुरमा बस्दै आएका छन् । छोरा वुहारीले घरवाट निकालेपछि बेलबारीमै रहेको बुढाथोकी बंवसेपछिशको कुलपुजा गर्ने धार्मिक वनमा बसेको र केहि समय  त्यहांबाट पनि निकालेपछि हाल चौलागाँईको कुलपुजा गर्ने छेउमा आएर वसेको भक्तमायालेे बताइन् ।त्यहाँवाट पनि बेला बखत निकालिदिने धम्की आउने गरेको उनले बताइन् ।

केही समयअघि राति आएको हात्तिले सोही स्थानमा एक जना मानिस मारेको थियो । उनले भनिन् ‘हामीलाई पनि कुन दिन हात्तीले मार्छ होला ।’ सो स्थानमा दुई बुढाबुढी चिमको छाप्रो हालेर बसेका छन् ।  कान्छी छोरीले कहिले काँही आएर चट्पटे वेच्ने गरेको र त्यसबाट नै चामल किनेर खाने गरेको उनले बताईन् । कान्छी छोरी मिना खतिवडाका श्रीमानले पनि उनलाइ छाडेर सौता लिइ हिडेकाले छोरालाई पनि विहान वेलुका वनिबुतो गरेर पाल्नु परेको गनासो गरिन् । वावु आमालाई सहयोग गरेको कारण  दाजुभाइहरुसंग वोलचाल नै बन्द भएको उनले बताईन् ।

बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले वृद्ध दम्पत्तिका छोरा वुहारीलाई वोलाएर सम्झाउने र त्यसो गर्दा नि समस्या समाधान नभए नगरपालिकाले उनीहरुको संरक्षण गरी सुरक्षित स्थानमा वसोवासको ब्यबस्था मिलाउने बताइन् ।