जनपत्रकार संगठनमा परिणत भो क्रान्तिकारी पत्रकार संगठन

  • १४ फाल्गुन २०७५, मंगलवार

 नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल बनाईएको छ । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तन गरिएको जानकारी दिएको छ ।
गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । कानुनी र प्राविधिक कारणले नाम फेर्नुपरेको अध्यक्ष डुम्रेको भनाई छ । संगठनले यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए ।
सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार संगठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको महासचिव विष्टले जानकारी दिए ।

पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वहस चलाएको थियो । संगठनका अध्यक्ष डुम्रेले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तिब्र पार्ने बताए ।

उनले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिन समेत आग्रह गरे । उनले सरकारले प्रेस नियन्त्रित कानुनहरु तत्काल नसच्चाए आन्दोलन गर्ने चेतावनी समेत दिए ।


Virus-free. www.avast.com