बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु

  • २८ चैत्र २०७५, बिहीबार

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिंँदा  एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । दुर्घघटनामा मोटरसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो  ।

बुधबार राति ८ बजे भएको दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये हेमको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा ९ बजे मृत्यु भएको हो । नोबेलमा उपचार सम्भव नभएपछि प्रकाशलाई थप उपचारका लागि विराट नर्सिङ होम लगिएको छ ।

टाउकोमा रगत जमेका कारण उनको टाउकोको शल्यक्रिया गरिएको र ४८ घण्टासम्म अब्जरभेसनमा राख्नु पर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियामा गर्ने डा. विवेक वैद्यले चौधरीको अवस्था खतरामुक्त नरहेको जानकारी दिए ।

गाडी हिजो झापाको दमकबाट पूर्व राजासहितको टोलीको पिछा गर्दै विराटनगर विमास्थलसम्म आएको थियो । पूर्व राजा ज्ञानेन्द्र भने पत्नी कोमलसहित ११ जनाको टोलीका साथमा साँझ ६ः५० बजेको श्री एयरलायन्सको जहाजमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गरेपछि गाडी दमकतर्फ नै फर्किएको थियो ।

त्यही क्रममा निशान कम्पनीको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । विशेष गरेर ज्ञानेन्द्र निर्मल निवासमा रहेका बेला र उहाँको भ्रमणका समयमा सुरक्षाका लागि सादा पोशाकमा रहने सशस्त्र प्रहरीले यो गाडीको प्रयोग गर्छन् । पूर्व राजा केही दिनदेखि पूर्व क्षेत्रको भ्रमणमा थिए । पूर्व बस्दा पूर्व राजाले शुभचिन्तक र समर्थकसँग भेटघाट तथा विभिन्न मन्दिरहरुमा पूजापाठ गरेका थिए ।

गाडीका चालक सशस्त्र प्रहरीका जवान दाङ घर भएका दीपेन्द्रप्रसाद लम्सालले कारमा सुट्केस र झोलामा कपडासहित पूर्व राजाको सचिवालयको सामान रहेको जानकारी दिएका छन् । पूर्व राजाको सचिवालयको सामानसहित बोकेर कार भोली काठमाडौं फर्कने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । – Bfm बाट