केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा

  • १६ बैशाख २०७६, सोमबार

केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ ।

केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको आम्दानी र बिकास खर्चको प्रगति बिवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत र वडाध्यक्ष लगायतले सर्वसाधारणले सोधेका विभिन्न प्रश्नको जवाफ दिएका थिए ।

केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि ६२ करोड ५६ लाख ५२ हजार ६ सय १५ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सार्वजनिक सुनुवाइमा दिइएको जानकारी अनुसार गत साउनदेखि २०७५ चैत मसान्तसम्ममा अनुमानित आयको ७७ दशमलव ५१ प्रतिशत राजस्व उठेको छ । त्यसैगरी आन्तरिक श्रोतबाट २३ करोड ३८ लाख ४१ हजार ६ सय १५ रुपैयाँ उठाउने  लक्ष्य लिइएकोमा ९० दशमलव ४७ प्रतिशत प्रगति भएको छ । प्रमुख प्रसासकीय प्रमुख पौडेलले चालू खर्चतर्फ ४२.९९ प्रतिशत र सशर्त अनुदानतर्फ ६३.१८ प्रतिशत खर्च भएको जानकारी दिए ।

त्यसैगरी सामाजिक सुरक्षा भत्तातर्फ ४ करोड ५३ लाख ४५ हजार रुपैयाँ बिनियोजन गरिएकोमा दोस्रो चौमासिकदेखि बैंक खातामार्फत भुक्तानी गर्न थालिएको ५८.४९ प्रतिशत सामाजिक सुरक्षा भत्ता बितरण भइ सकेको पौडेलले बताए । उनका अनुसार केही वडामा सामाजिक सुरक्षा भत्ता पाउनेको खाता खोल्ने क्रम चलिरहेको छ । स्थानीय बिकास पुर्वाधार साझेदारी कार्यक्रमको ९९ लाख ७० हजारमध्ये १४.७४ प्रतिशत मात्र प्रगति देखिए पनि दुई महिनाभित्र काम सकिने गाउँपालिकाले जनाएको छ ।

एउटा टीभीले ठेक्का लिएर गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले  जनप्रतिनिधिको सेवा सुबिधा बढाइएको, गाउँपालिकाको नयाँ भवन र वडा कार्यालयहरुको निर्माणमा ध्यान नदिइएको, सन्तुलित बिकास नभएको, खदम खोलामा पुल बनाउन पहल नभएको र खोलामा आइइइ को मापदण्ड बिपरित उत्खनन गरिएको, न्यायिक समितिको काम कारबाही प्रभावकारी नभएको, निर्माण थालिएको चार पाँच बर्षसम्म पनि बेलचौरीको पुल अलपत्र भएको, भौतिक संरचना गुणस्तरहीन हुने गरेको, बाढी पहिरो नियन्त्रणका लागि स्थानीय सरकारले पर्याप्त काम गर्न नसकेको लगायत कृषि, स्वास्थ्य र खानेपानी लगायतका समस्याबारे गुनासा तथा प्रश्न राखेका थिए ।

सर्वसाधारणले सोधेका प्रश्न तथा गुनासाको गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति कुमारी लिम्बु, प्रमुख प्रसाशकीय अधिकृत र वडाध्यक्ष लगायतले जवाफ दिएका थिए ।