एक्ली देशमायाको लागि निर्माण गरिएको घर हस्तान्तरण, आम्दानी र खर्च पनि सार्वजनिक

  • १७ बैशाख २०७६, मंगलवार

मोरङको बेलबारी २ की बेसहरा देशमाया राईको लागि   ५ लाखभन्दा बढीको लागतमा स्थानीयबासीको पहलमा निर्माण गरिएको घर एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ ।

बर्षौंदेखि मागेको भरमा गुजारा चलाउँदै आएकी एक्ली देशमायालाई वडा सदस्य खिनामाया थापालगायतको  अगुवाइमा ३ कोठाको १ तले घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा पुर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम, ब्यबाशायी तथा समाजसेवी प्रताप थापा लगायत घर निर्माणका अभियन्ताहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि र सन्चारकर्मी लगायतको उपस्थिति थियोे ।

आफन्त कोहि नभएको र बस्ने घर पनि नभएकोले लाटी देशमाया बीस पच्चीस बर्षदेखि लालभित्ति आसपास रहेर मागेको भरमा जीवन चलाइरहेकी थिइन्  । बोल्न र कान सुुुन्न नसक्ने दिदी भाइ मध्ये भाइको मृत्यु भएपछि बिजोग अबस्थामा पुगेकी देशमायाको उपकार गर्न वडा सदस्य खिनामाया थापालगायत केहि स्थानीयको अगुवाइमा अभियान चलाइएको थियो । एकमात्र  भाइले पनि केही महिनाअघि संसार छोडेपछि उनी झन् बेसहारा भएकी थिइन् ।

देशमाया राईको भाई राजकुमार राईको मृत्युपछि स्थानीयबासीको एक भेलाले राजकुमारको नाममा आदर्श टोलमा रहेको १ कठ्ठा जमिनमा घर निर्माण गर्ने र इन्द्र राईलाई संरक्षकका रुपमा उक्त घरमा बस्ने निर्णय गरेपछि घर निर्माण अभियान चलाइएको र त्यसपछि ६ महिनापछि घर निर्माण सम्पन्न भएको अभियन्ता तथा वडा सदस्य थापाले जानकारी दिइन् ।

स्थानीय केहि ब्यक्तिहरुको पहल, संघ संस्था  र देश बिदेशमा बस्ने ब्यक्तिहरुको सहयोगमा देशमायाका लागि बस्ने घर तयार भएको हो । घर निर्माण  सुरु गर्दा निर्माण सामाग्री अपुग र आर्थिक अभाव भएपनि बिभिन्न दाताहरुको सहयोगमा घर निर्माण कार्य सम्पन्न भएको  वडा सदस्य थापाले बताइन् । देशमायाको कोहि पनि संरक्षक नभएकोले उनको रेखदेख समेत गर्न इन्द्र राइको त्यस घरमा अर्काे परिवार  पनि संरक्षकका रुपमा बस्ने भएका छन् । इन्द्रको परिवार मजदुरी गरेर जिविकोपार्जन गर्ददै आएको छ ।

घर निर्माणको आयब्यय पनि सार्वजनिक 

घर प्रवेश कार्यक्रममा घर निर्माण गर्दाको आय व्यय समेत सार्वजनिक गरिएको छ । घर निर्माण अभियानमा ३ लाख १९ हजार ९ सय ५० रुपैयाँ संकलन भएको थियो भने जम्मा ५ लाख २६ हजार ३ सय ५० खर्च भएको वडा सदस्य थापाले बताइन् । बाँकी सहयोग रकम उठ्ने क्रम जारी छ ।

घर हस्तान्तरण कार्यक्रममा बेलबारी नगर उप–प्रमुख ढाका कुमारी पराजुली, वडा नं २ का वडाध्यक्ष घनश्याम गौतम, पुर्व सांसद हर्कमान तामाङ लगायत स्थानीय बुद्धिजिवी, व्यापारी लगायतको उपस्थिति थियो  ।