सुन्दरपुरमा खानेपानीको हाहाकार, जनता भन्छन् ‘चुनाव जिते, मन्त्री भए तर लालबाबु फर्केर आएनन्’

  • २२ बैशाख २०७६, आईतवार

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निर्वाचन क्षेत्रमा पर्ने मोरङको सुन्दरहरैंचा ६ का बासिन्दा खानेपानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य भएका छन् ।

सुन्दरहरैंचा ६ स्थित बुद्ध स्कुल वरपर बस्तीको सिरान टोलका बासिन्दा बर्षौंदेखि खानेपानीको सास्ती झेल्न बाध्य भएका हुन् । करिब २२ घर रहेको सो टोलका सबैजसो घरमा भएका ट्युबवेलमा पानी सुकेका कारण केहि बर्षदेखि पानी नै आउँदैन । एक-दुइवटा ट्युबवेलमा अलिअलि आउने पानीले सबैलाई नपुग्ने भएकोले १५/२० मिनेट टाढाको अर्को टोलका स्थानीयको घरमा रहेका ट्युबवेलमा थापेर पानी बोक्नुपरेको स्थानीय साबित्रा श्रेष्ठले बताइन् । बर्षा याममा आकाशबाट परेको पानी संकलन गरी ५ सय लिटरको ट्यांकीमा जम्मा गरेर खानेपानीको जोहो गर्ने गरेको र हिउँद याममा घरको छानामा परेको शीत जम्मा गर्ने गरेपनि दैनिक एक दुई लिटर पानी पनि जम्मा नहुनाले खानेपानीको हाहाकार हुने गरेको श्रेष्ठले बताइन् ।

गत भाद्रमा २० हजार खर्च गरेर आफैंले ५५ फुट गहिरो ट्युबवेल गाड्न लगाएको भएपनि पानी आउन छाडेपछि  कल नै निकालेर राखेको र वरपरका छिमेकीको घरबाट पानी ल्याएर खाइरहेको स्थानीय शान्तामाया गुरुङले बताइन् । उनले खानेपानी समस्या समाधानका लागि सहयोग गर्न सरोकारवालाहरुसँग आग्रह गरिन् ।

त्यसो त सुन्दरपुर खानेपानी आयोजनाबाट डिप बोरिङ मार्फत खानेपानी योजना संचालन गर्न तीन बर्षअघि नै खानेपानीको आकाशे ट्यांकी पनि बनिसकेको छ । सो ट्यांकीदेखि डिपु भन्ने स्थानसम्म खानेपानीको पाइपलाइन बिछ्याइएको भएपनि त्यसयता पाइपलाइन समेत नल्याइएको स्थानीयबासी बताउँछन् ।आयोजनाका लागि भनेर गत बर्ष प्रत्येक घरबाट ५ हजार १ सयका दरले पैसा पनि उठाइएको थियो । तर हालसम्म सहज रूपमा खानेपानीको ब्यबस्था हुने लक्षण देखिएको छैन ।

स्थानीय बासिन्दाका अनुसार चुनाव अघि विभिन्न आश्वासन देखाउँदै भोट मागेर चुनाव जितेपछि नेपाल सरकारको सामान्य प्रसासन मन्त्री समेत भएका लालबाबु पण्डित समेत फर्केर आएका छैनन् ।

मन्त्रीलाई समस्या राख्न नपाए पनि स्थानीय बासिन्दाले स्थानीय सरकार भनिने सुन्दरहरैंचा नगरपालिकाका मेयर र उपमेयरलाइ भेटी खानेपानी समस्या समाधान गरिदिन आग्रह समेत गरेका छन् । तर मेयर शिव ढकाल र उपमेयर धना तामाङ र वडाध्यक्ष लगायतका जनप्रतिनिधिले गाउँमा आएर हेरेको तर  एक दुई बर्षमा खानेपानी योजना सम्पन्न हुने र त्यसपछि यो टोललाइ पहिलो प्राथमिकता दिएर खानेपानी समस्या समाधान गर्ने बताएको स्थानीय शिक्षिका समेत रहेकी श्रेष्ठले बताइन् ।

सो टोलमा धेरै बर्ष अघि प्रत्येकजसो घरमा ट्युबवेल गाडिएको थियो । तर दुई चार बर्षयता सय फुटसम्म गाडेका केही ट्युबवेल बाहेक अन्यमा पानी आउँदैन । बर्षा याममा अलिअलि पानी आएपनि फागुन चैतपछि काकाकुलको नियति भोग्नु परिरहेको स्थानीयबासी बताउँछन् । केही पर डिप बोरिङ गरी सिंचाइका लागि पाइपलाइनबाट सोही टोल हुँदै पानी लगिएको भएपनि सो पानी खान नमिल्ने स्थानीय बासिन्दा बताउँछन् ।

डिपु टोलमा पनि स्वच्छ खानेपानीको समस्या

त्यसो त अलि पर रहेको डिपु टोल स्थित करिब ४० घर मुसहरहरुको घर रहेको बस्तीमा पनि स्वच्छ खानेपानीको ब्यबस्था छैन । त्यहाँका केही ट्युबवेलमा पानी आउने भएपनि पर्याप्त नहुने भएकोले मुसहरहरु सिमसारबाट बगेर आएको पानी खान बाध्य भएको शिक्षक युवराज आचार्यले बताए । – अम्बिका भण्डारी