केराबारी गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बन्नेभो सार्वजनिक पुस्तकालयको भवन

  • ९ असार २०७६, सोमबार

वि सं २०२४ सालमा स्थापित मोरङ केराबारीकै पुरानो संस्था सार्वजनिक पुस्तकालयको भवन निर्माण हुने भएको छ ।

 केराबारी गाउँपालिकाले आवश्यक बजेट दिने भएपछि पुस्तकालयको भवन बन्ने भएको हो । परिषद बैठकबाट स्वीकृत भइ आव २०७६/७७ को बजेटमा योजना समेट्ने गरी केराबारी गाउँपालिकाले पुस्तकालयको भवन निर्माणका लागि २० लाख र प्रदेश सरकारले ३० लाख बजेट बिनियोजन गरेका छन्  ।

यही असार १० गते हुने गाउँसभाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत तथा पारित गरेपछि पुस्तकालय भवनको नक्साङ्कन र टेण्डर आव्हानपछि भवन निर्माण हुने  केराबारी गाउँपालिका वडा नं १० का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता जङ्गराज खवासले बताए ।

करिब ५० लाख लागतमा बन्ने पुस्तकालयको भवन  २ तले हुनेछ । भवनको तल्लो फ्लोरमा वाचनालय र अफिस हुनेछ भने दोश्रो फ्लोरमा प्रोजेक्टर सहितको अत्याधुनिक कार्यक्रम हल हुनेछ  ।

केही समयअघि नेपाल सरकारले अनुदान दिने सूचीमा सार्वजनिक पुस्तकालय समेत परेको समाचार आएको थियो तर सार्वजनिक पुस्तकालयलाई दिने भनिएको अनुदान रातारात अन्यत्र गयो। केन्द्रिय बजेट नआउने भएनि केराबारी गाउँपालिका र प्रदेश सरकारले बजेट बिजियोजन गरेका हुन् ।

गाउँपालिकाले बजेट बिनियोजन गर्ने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । प्रदेश नं १ कै नमूना पुस्तकालय निर्माणको अभियानमा पुस्तकालयलाई लाने योजना रहेको

त्यसो त १ नम्बर प्रदेश सरकारले सार्वजनिक पुस्तकालयमा इ-लाइब्रेरी सञ्चालन गर्न तीन लाख र पुस्तक खरिदका लागि तीन लाख गरी ६ लाख रुपैयाँ अनुदान दिइसकेको सार्वजनिक पुस्तकालय केराबारीका सचिव नवीन थापा क्षेत्रीले बताए ।