मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

  • २२ असार २०७६, आईतवार

मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ ।

खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्‍याली गरिएको हो ।

आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु लगायत विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनीधहरु र स्थानीय समाजसेवीहरूको उपस्थिति थियो ।

पाँच पाँच हजार नगद सहित गोलकर्ताहरु पुरस्कृत 

सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले मेयर कपको फाइनलमा गोल गर्ने मनिस लिम्बू र भुवन बस्नेतलाई पाँच पाँच हजार नगदसहित पुरस्कृत गरेका छन्  ।

खेलाडीहरूलाई अबिर र खादाले सम्मान गर्दै अध्यक्ष कार्की र उपाध्यक्ष लिम्बुले संयुक्त रूपमा खेलकुद विकास समिति, प्रशिक्षक र खेलाडीहरूलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

र्‍यालीपछि खेलाडीले गाडीमा ट्रफी लिएर केराबारीका विभिन्न भाग परिक्रमा समेत गरेका थिए । चोक चोकमा आइतबार सबैजसो खेल जितकै बिषयमा गफ गरिरहेका देखिन्थे ।

केराबारी गाउँपालिकाले दश दश हजार सहित खेलाडीलाई सम्मान गर्ने 

केराबारी गाउँपालिकाले बिजेता सहित केराबारीका खेलाडीहरुलाइ दश दश हजार सहित सम्मान र पुरस्कृत गर्नेे भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले खेलाडीहरुको हौसला र खेल स्तरमा समेत टेवा पुर्‍याउने उदेश्यले यही महिना भित्र प्रत्येक खेलाडीलाई दश/दश हजार रुपैयाँ सहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

बेलबारी नगरपालिकाको आयोजनामा शनिवार भएको जिल्ला भरका पालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पथरीशनिश्चरे नगरपालिकालाई २-० ले पराजित गर्दै केराबारी गाउँपालिका च्याम्पियन भएको थियो । प्रतियोगिता जितेर केराबारीले डेढ लाख हात पारेको छ ।