सुन्दरहरैंचामा जन्माष्टमी रथयात्रा भव्य रूपमा सम्पन्न, हेलिकप्टरबाट गरियो पुष्पवर्षा

  • ७ भाद्र २०७६, शनिबार

सुन्दरहरैंचा, माेरङ/ श्री कृष्ण प्रणामी मन्दिर तथा श्री राधाकृष्ण रथयात्रा समारोह समितिकाे आयाेजनामा मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रथयात्रा महाेत्वस भव्य रुपमा सम्पन्न भएको छ ।

श्री कृष्ण प्रणामी मन्दिर सुन्दरहरैंचाले हरेक वर्ष झैँ जन्माष्ठमीका भाेलिपल्ट निकाल्ने रथयात्रा भव्यताका साथ समापन गरेकाे हो ।

दिउसाे २ वजे कृष्ण प्रणामी मन्दिरबाट निकालिएकाे विशेष रथलाई बजार परिक्रमा गराएर पुन: मन्दिरमै भित्रयाईएकाे थियाे । बृृद्धवृद्धा देखि लिएर ससाना बालबालिकाहरु पनि घामकाे प्रवाहै नगरी रथयात्रामा सहभागिता जनाएका थिए ।

श्री कृष्ण जन्माष्टमीको एतिहासिक अवसरसंगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साे रथयात्रा समाराेहकाे उद्घघाटन गरेका थिए ।

हेलिकप्टरको माध्यमबाट पुष्पवर्षा

रथयात्रा महाेत्सवमा हेलिकप्टरको माध्यमबाट पुष्पवर्षा समेत गरिएको थियाे । संयुक्त रुपमा नगरका विभिन्न धार्मिक संघ संस्था मठ मन्दर तथा भजन किर्तन टाेलीहरुकाे सहभागितामा भएको रथयात्रामा हजारौं भक्तजनहरु सहभागी भएका थिए ।

विराटचोकको श्रीकृष्ण प्रणामी मन्दिरको परिसरबाट  भएको रथयात्रा नगरको विराटचाेक, हरैँचामोड, खार्साने ,सलकपुर हुदै गाेठगाउँचाेककाे परिक्रमा गरेर करीब ६ कि.मी.को दुरी पार गरि पूनः सोही मन्दिरमा पुगेर समापन भएको थियो ।

मुख्य सडकको पेटीमा मानव सागर झैँ उर्लिएका भक्तजनलाई दर्शनको अवसर दिन विभिन्न ठाउँमा विश्राम गरी रथयात्रा अगाडि बढाइएको थियो । रथयारामा अन्य सँस्कृति झल्किने झाँकी, लाखे, नाचगान लगायत श्रद्घालुबीच चिसो पानी तथा जुसको पेय पदार्थ वितरण गर्ने विभिन्न संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी संयमसेवकहरु रथयात्रामा सहभागी भएका थिए ।

रथयात्रामा सुन्दरहरैंचा नपाकाे दमकलले पानीकाे व्यवस्था समेत गरेकाेले विभिन्न संघ संस्थाको ब्यानरमा एकता र सद्भभावका साथमा धार्मिक विधिपूर्वक सहभागी भएर आफ्नो ठाउँको पहिचान तथा इतिहासलाई उच्च राख्दै रथयात्रामा हजारौँ श्रद्धालु भक्तजन सहभागी भएको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

सुन्दरहरैचा नगर क्षेत्रमा विगत ४८ वर्षदेखि स्थापित श्रीकृष्ण प्रणामी मन्दिर विराटचोकबाट सुरु भएको रथयात्रा यस ठाउँको धार्मिक सामाजिक मुल्य मान्यतालाई कायम राख्दै अघि बढ्न सफल भएको श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा वास्ताेलाले बताए ।

नगरमा रथको अभाव भएको बेला विशेष प्रकारको आकर्षक रथलाई सुन्दरहरैचा नगरपालिकाले विशेष आर्थिक सहयोग गरी नेपालकै नमुना रथको रुपमा गत बर्ष नै निर्माण समेत गरेकाे थियो । रथयात्रामा विभिन्न सहयोगी संघसंस्था धार्मिक भक्तजन भजनकीर्तन टोली, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी धर्मप्रेमी महानुभावहरु हर्षोल्लासका साथ सहभागी भएको रथयात्रा व्यवस्थापन समितिका सदस्य रामप्रसाद गजुरेलले बताए ।

किन र कसरी गरिन्छ रथयात्रा ?
भगवान श्रीराधाकृष्णकाे युगल जाेडीलाई रथमा राखेर पृथ्वीकाे भ्रमण गर्दा सात पटक पृथ्वी घुमेर प्राप्त हुने फल पाइने धार्मिक मान्यता रहि आएकाे छ । रथयात्रामा रहेकाे रथकाे डाेरीलाई छाेएर तान्नाले मात्रै पनि सात जन्ममा गरेकाे पाप नष्ट भएर जान्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

रथयात्रा भनेकाे श्रीकृष्ण भगवानकाे मंगलमय जन्म उत्सव भएकोले रथमा श्री राधाकृष्ण भगवानकाे युगल जाेडीलाई सवारी गराएर पृथ्वीमा घुमाउने गरिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगकाे भाद्र कृष्ण अष्टमीकाे मध्य रातमा मथुराकाे जेलमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नु भएको थियाे ।

रथयात्राका लागि शुरुमा धर्मिक विधि अनुसार दियाे बालेर , गणेश र कलशका साथमा पन्चकुम्भ राखेर रथकाे चक्का , इन्जिन साथै विश्वकर्मा भगवानकाे समेत पुजा गरिन्छ । रथकाे परिक्रमा गरि विधि पुर्वक पुजा सम्पन्न गरेर रथमा श्री कृष्ण भगवानकाे मुर्ती राखेर शुरुमा १ सय कदम पूर्व पट्टी रथ अघि बढाएर मात्र अावश्यकता अनुसार विभिन्न स्थानकाे परिक्रमा गरि रथ चलाउंनु पर्दछ भन्ने धार्मिक मान्यता रहेको पं सूर्यप्रसाद दाहालले जानकारी दिए ।

साे अवसरमा संघीय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेशसभा सांसद राजकुमार अाेझा, लाेकप्रसाद सङग्राैला, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, लगायत विशिष्ठ व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।

सहभागी उल्लेख्य मात्रामा सहभागी हुदा ट्राफिक प्रहरीलाई यातायात सुचारु गर्न हम्मे हम्मे परिरहेकाे थियाे ।

रथयात्रामा सहभागी भक्तजनलाई जुनियर जेसिस इन्द्रपुरले जुस तथा पिउने पानीकाे व्यवस्था गरेका थियाे ।