सहारा वालग्रामको बिवादित संचालक समितिको नाम सार्वजनिक

  • १९ भाद्र २०७६, बिहीबार

सहारा वालग्रामको झण्डै डेढ बिघा जग्गा ब्यक्तिलाई बिक्री गरिएपछि सहाराको संचालक समितिमा को को छन् भन्ने अन्योल भइरहेको बेला नेपाली कांग्रेस बेलबारीले समितिका सबैको नाम सार्वजनिक गरेको छ ।

सहारा काण्डकै बिषयमा बुधबार गरिएको पत्रकार सम्मेलनका क्रममा कांग्रेसले ती नामहरु सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिए अनुसार सहारा वालग्रामको ७ सदस्यीय समितिमा शिव बराल अध्यक्ष, लक्ष्मण थापा महासचिव र महेन्द्र घिमिरे कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा दुर्गा बराल, भिमराज बस्नेत, तुलसी ओझा र प्रदीप श्रेष्ठ छन् । उनीहरूको समिति कहिले र कसरी बनेको हो अर्थात कति बर्ष भयो भन्नेबारे भने खुलेको छैन ।

त्यसैगरी हर्कमान तामाङ लगायतका केही ब्यक्तिहरु संरक्षक तथा सल्लाहकारको भुमिकामा रहेका र सहाराको जग्गा बिक्री काण्डमा उनीहरूको पनि संलग्नता रहेको कांग्रेसले जनाएको छ ।

सहाराको जग्गा बिक्री काण्डमा संलग्नहरुलाइ नेकपा बेलबारीले संरक्षण गरी चोख्याउने काम गरेको भन्दै कांग्रेस बेलबारीले बुधबार पत्रकार सम्मेलन गरेको थियो । नगरपालिकाको पहलमा सर्वपक्षीय छानबिन समिति गठन गर्न र दोषीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

सहाराको जग्गा बिक्री काण्डबारे नेकपा बेलबारीले छानबिन समिति बनाए पनि सहाराका पुर्व अध्यक्ष हर्कमान तामाङ र अध्यक्ष शिव बराललाइ दुई महिनासम्मका लागि निलम्बन गर्ने हास्यास्पद निर्णय गरेको छ । व्यापक बिरोधपछि इटहरीका डम्बर तामाङले किनेको जग्गा उधारोमा संस्थाकै नाममा फिर्ता भइसकेको छ ।