सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई

  • १९ कार्तिक २०७६, मंगलवार

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ ।

काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो ।

त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले ब्यहोर्ने छ । युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको नागरिक दैनिकमा समाचार छ

६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए । यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो ।

सहमतिका मुख्य बुँदा

-कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने ।

-म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने ।

-हवाई टिकट रोजगारदाताले दिने ।

-कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने ।

-कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने ।

-रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने ।

-कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने ।

-कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने ।