बिराटचोकमा जिल्लास्तरीय सार्वजनिक सुनुवाई, जनताको कठघरामा उभिए जनप्रतिनिधि

  • १ मंसिर २०७६, आईतवार

सुन्दरहरैंचा, माेरङ/ जिल्ला प्रहरी कार्यालय माेरङले जनता प्रहरी  साझेदारी कार्यक्रमका क्रममा उत्तरी मोरङमा भए गरेका  काम कारबाहीबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

शनिवार मोरङको सुन्दरहरैचामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की प्रमुख अतिथि थिए ।

मन्त्री कार्कीले नेपाल विधिको शासन भएको मुलुक भएको दाबी गर्दै भने ‘कानुन सबैको लागि समान हो, अब सानालाइ ऐन ठुलालाइ चैन भन्ने दिन गए । ‘

पूर्व सभामुख कृष्णबहादुर महरा र बम विस्फोटमा परेका घाइतेहरुलाई जिउँदै ईंटाभट्टामा १२ वर्षअघि जलाएको आरोपमा थुनामा परेका सांसद मोहम्मद अफताब आलमको उदाहरण प्रस्तुत गर्दै उनले भने ‘अपराध गर्ने जो कोही हुन्, कानुनले कसैलाई छुट दिँदैन।’

 ईलाका प्रहरी कार्यालय बेलबारीकाे सहकार्यमा सुन्दरहरैंचामा रहेकाे जेसिस भवनमा माेरङ प्रहरीले गरेको कार्यक्रम बेलबारी, सुन्दरहरैंचा, केराबारी तथा ग्रामथान लगायतका स्थानीयपालिका क्षेत्रमा दिइने सेवा प्रवाहमा केन्द्रित थियो ।  सार्वजनिक सुनुवाईमा  प्रदेश सांसद विजय विश्वास, सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, बेलबारी नगरपालिकाकी उपाध्यक्ष ढाकाकुमारी पराजुली, केरावारी गाउँपालिकाका अध्यक्ष राेहित कार्की, प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ठाकुरप्रसाद ज्ञवाली, निमित्त प्रजिअ अनुज भण्डारी लगायतकाे सहभागिता रहेको थियाे ।

सार्वजनिक सुनुवाईका सहभागीहरुले आ-आफ्नाे सराेकारका विषयहरुमा विभिन्न सवाल राखेका थिए ।सहभागीहरुकाे सवालकाे जवाफ सम्वन्धित स्थानीयपालिकाका प्रमुखहरुले दिएका थिए ।