मनाङ मुस्ताङतिर पुग्ने पर्यटकलाइ सुरक्षा र सूचना दिएर पर्यटन प्रबर्द्धन गर्दै नेपाल प्रहरी

  • ९ मंसिर २०७६, सोमबार

पर्यटकीय क्षेत्र भएको मनाङमा पर्यटक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर विभिन्न रणनिति तथा  विशेष सुरक्षा योजना लागु गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका वहादुर कार्कीका अनुसार जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सुरक्षा योजना ल्याइएको हो ।  पर्यटकको रोजाइमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या वढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षा मनाङ प्रहरीले कडा रुपमा गर्दै आएको छ ।
पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालमा  प्रहरी गस्ती पनि सुरु गरेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने महत्वपूर्ण गन्तब्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले वताए ।

यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ तैनाथ छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस हुनेछ ।
गस्तीसंगै डिएसपी टिका वहादुर कार्कीको कमाण्डमा पाँच हजार मिटर भन्दा बढी मिटर उचाईमा रहेका लार्केपास,  नार गाउँ, थ्रोङलापास र काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको हो ।
यो कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा अगाडि बढाईएको डिएसपी कार्कीले वताए । जिल्लामा रहेका र जिल्ला भित्रिने सवै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह छ ।
गण्डकी प्रदेशमा आउने पर्यटकहरु सवैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र वाह्य पर्यटक आउने गर्दछन ।
त्यसैले उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले वताए । अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढि पर्यटक भित्रिने गरेका छन ।
विगत बर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन । गण्डकी प्रदेशले आन्तरिक पर्यटन बर्ष मनाईरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई ब्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताए ।