शुरु हुँदै ‘केराबारी फुड फेस्टिबल एण्ड टुरिजम फेयर’, प्याराग्लाइडिङ र हाइकिङ खेल्न पाइने

  • १४ मंसिर २०७६, शनिबार

आन्तरीक पर्यटन प्रर्बद्धन र पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै पर्यटन बर्ष २०२० लाई समेत प्रबर्द्धन गर्ने उद्देश्यले मोरङको केराबारीमा केराबारी फुड एण्ड म्युजिकल फेस्टिबल र टुरिजम फेयर हुने भएको छ ।

केराबारी गाउँपालिकाको सहयोग तथा होटल व्यवसायी संघ केराबारीको आयोजनामा यही मंसिर १६ देखि २४ सम्म चल्ने फुड फेस्टिबल तथा टुरिजम फेयर हुने भएको हो ।

“आन्तरीक पर्यटनको विकास गरौं समुन्नत समाजको निर्माण गरौं” र “नयाँ स्वाद र परिकार सहितको पर्यटन प्रर्बद्धन, समृद्ध केराबारी हाम्रो पहिचान” भन्ने नाराका साथ हुन लागेको फुड फेस्टिबलमा स्थानीय श्रोत साधनको प्रयोग गर्दै व्यापार व्यवसायको प्रर्वद्धन गर्ने  र स्थानीय तहको आय श्रोतमा बृद्धि गर्न सहयोग पुर्याउने योजना गरिएको छ ।

आयोजक समितिका सचिव तथा होटल व्यवसायी संघका सचिव सञ्जय तामाङका अनुसार सो अबसरमा केराबारीको पर्यटनमा प्रर्बद्धन गर्न प्याराग्लाइडिङ हाइकिङ जस्ता साहसिक खेलहरु समेत खेलाइने छ ।

फुड फेस्टिबल केराबारी बजारको मच्छिन्द्र चोकदेखि पूर्वपट्टि रहेको सडक पेटिमा हुनेछ  । फेस्टिबलमा स्थानीय मौलिक परिकारका खाना र परिकारसहित जातिय र सांँस्कृतिक परिकारका खानेकुराहरुको आर्काषण हुने होटल व्यवसायी संघका अध्यक्ष रुद्रवहादुर खत्रीले बताए ।

फेस्टिबलको तयारीका लागि स्थानीय सम्भावित पर्यटकिय क्षेत्रको प्रबर्द्धन तथा परिचित पर्यटकीय स्थलहरुमा सडक मर्मत, होमस्टे ब्यबस्थापन लगायतका आवश्यक काम पनि भइरहेको गाउँपालिका अध्यक्ष रोहित वहादुर कार्कीले बताए । फेस्टिबलबाट १८ लाख आम्दानी हुने  आयोजकले अपेेक्षा गरेका छन्  ।