४३ वटामध्ये २२ वडा जित्यो नेकपाले, १२ वटा वडामा कांग्रेस बिजयी

  • १५ मंसिर २०७६, आईतवार

शनिबार उपनिर्वाचन भएका बिभिन्न स्थानीय तहका ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिंँदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले १२ वडाध्यक्ष जितेको छ ।

चुनावमा समाजवादी पार्टीले ३ वडाध्यक्ष र राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि ३ वडाध्यक्ष जितेका छन्  । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ समेत गरी २३ वडाबाट नेकपाले ८ वडा गुमाए पनि कांग्रेसले जितेका ८ वटै वडा खोसेर नेकपा आफ्नो साबिक संख्या कायम राख्न सफल भएको छ ।

नेकपाले यसअघि जितेकामध्ये  हिलिहाङ ७ पाँचथर, धनपालथान २ मोरङ, हरिपुर्वा १ सर्लाही, भरतपुर १६ चितवन, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी, पुर्चौडी ४ बैतडीमा कांग्रेसले जितेको छ  ।

पहिले नेकपाले हारे पनि अहिले जितेका वडामा फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्द्रावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरा छन् ।

पहिले नेपाली कांग्रेसले जितेका १२ वडामा चुनाव भएको थियो । तीमध्ये कांग्रेसले ८ वटा वडा गुमाए पनि यसअघि हारेका ८ वटा  वडामा जितेर १२ स्थान नै सुरक्षित गरेको छ । कांग्रेसले यसअघि जितेपनि यसपटक फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्द्रवाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको छ ।

कांग्रेसले हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, गढीमाइ २ रौतहट, भरपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ, पुर्चौडी ४, बैतडी, दोगडा केदार ४ बैतडीमा नयाँ जित निकालेको छ ।

यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

मोरङको धनपालमा कांग्रेसका वडाध्यक्ष बिजयी

मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् ।

यस अघिको निर्वाचनमा नेकपाले जितेको यस वडामा नेकपाका उम्मेदवार पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् ।  ४ हजार ७४ मतदाता रहेको सो वडामा  ३ हजार २ सय ८४ मत  खसेको थियो । बिजयी भएका नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप्त गरे भने  नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, नेपाल लोकतान्त्रीक पार्टी, मंगोल नेशनल अर्गनाईजेशन  र जनमत पार्टीको तर्फबाट उम्मेदवार भएपनि कसैले पनि पचास मत कटाएनन्  ।