केराबारीमा शुरु भो फुड फेस्टिबल एण्ड टुरिजम फेयर, जाने हैन प्याराग्लाइडिङ खेल्न ?’

  • १६ मंसिर २०७६, सोमबार

केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने  तथा पर्यटनको प्रबर्द्धन र बिकास गर्ने उदेश्यले  सोमबारदेखि मोरङको केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल तथा टुरिजम फेयर शुरु भएको छ ।

केराबारी गाउँपालिकाको सहयोग र केराबारी होटल तथा पेय पदार्थ व्यवसायी संघको आयोजनामा फेष्टिबल शुरु भएको हो । मंसिर २४ गतेसम्म चल्ने फेस्टिबल तथा टुरिजम फेयरको सोमबार केराबारी गाउँपालिकाका प्रमुख रोहित वहादुर कार्कीले उद्घाटन गरेका छन्  ।

“आन्तरीक पर्यटनको विकास गरौं, समुन्नत समाजको निर्माण गरौं” “नयाँ स्वाद र परिकार सहितको पयटन प्रर्बद्धन समृद्ध केराबारी हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना भएको सो फुड फेस्टिबलमा स्थानीय  व्यापार व्यवसायको प्रर्वद्धन गर्ने लक्ष्य लिइएको छ ।

फेस्टिबलमा हाइकिङ, साइक्लिइङ, प्याराग्लाइडिङ लगायत चित्रकला कार्यशाला र प्रर्दशनी एवम् जातिय परिकारका खाना तथा सांँस्कृतिक झाकीहरु हुनेछन् । त्यसैगरी चर्चित कलाकार तथा गायक गायिकाहरु आस्था राउत, आनन्द कार्की, काली प्रसाद बास्कोटा लगायत स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुत समेत दिने आयोजकले जनाएको छ ।

सोमबारको उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायत स्थानीय बासिन्दाहरुको उल्लेख सहभागिता थियो । तर पत्रकार सम्मेलनमा होस् वा उद्घाटन कार्यक्रममा केही बाहेक आसपास रहेका  सन्चारकर्मीहरुलाइ पनि निमन्त्रणा गरिएको थिएन  ।