बेलबारी र डाँगीहाटलाइ जित्दै दमक र एपीएफ पुगे दोस्रो कुसुमे गोल्डकपको फाइनलमा

  • २४ मंसिर २०७६, मंगलवार

सशस्त्र प्रहरी बल  (एपियफ) पूर्वाञ्चल र रोयल फुटबल क्लब दमक केराबारी ९ मा जारी “दोस्रो कुसुमे उद्यौली कप २०७६” को  फाइनलमा पुगेका छन् ।

मङ्गलबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा बेलबारीलाइ पराजित गर्दै एपिएफ र डाँगीहाटलाइ पराजित गर्दै रोयल फाइनलमा पुगेका हुन्  ।

पहिलो सेमिफाइनल खेल एपिएफ र बेलबारी फुटबल क्लब बिच भएको थियो । खेलको २० मिनेटमा एपिएफका खेलाडी कृष्ण थापाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ८ मिनेटमा बेलबारीका खेलाडी भुषन सुब्बाले गोल फर्काएर खेललाई बराबरीको अबस्थामा पुर्याएको थियो ।

खेल बराबरीमा टुङ्गिएपछि भएको ट्राइब्रेक्ररमा ४–२ गोलको अन्तरले एपिएफले बेलबारीलाई हराएको थियो । एपियफका खेलाडी योगेश दुर्गा मगर, सविन थापा, युवराज श्रेष्ठ र आकाश राईले गोल गरेका थिए । बेलबारीको तर्फबाट भने विक्रम लिम्बु र भुषन सुब्बाले मात्र गोल गर्न सके । मौसम लिम्बु र किरण लिम्बु गोल गर्न चुक्दा बेलबारी फाइनलमा प्रवेश गर्न असफल भयो ।

त्यस्तै अर्को सेमिफाइनल खेल डाँगीहाट युथ क्लब  र रोयल फुटबल क्लब दमकबिच भएको थियो । पहिलो हाफको १० मिनेट र २० मिनेटमा डाँगीहाटका खेलाडी सुजन बस्नेतले दुई गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

रोयलले भने पहिलो हाफमा कुनै गोल गर्न नसकेपनि दोस्रो हाफको १० मिनेटमा सञ्जीव बुढाथोकीले गोल गरेका थिए ।आशिष चौधरीले १५ मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । खेल बराबरीमा टुङ्गिएपछि भएको  ट्राइब्रेक्ररमा ५–४ गोल अन्तरले रोयल बिजयी हुँदै फाइनलमा पुगेको थियो ।

रोयलको तर्फबाट सागर लिम्बु, सरोज कार्की, रोशन तामाङ, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए । डाँगीहाटको तर्फबाट नितेस मगर, धिरेन लिम्बु, विकास लिम्बु, अनिश घिमिरेले गोल गरेपनि गोकुल राजबंंशी  गोल गर्न चुक्दा डाँगीहाटको लागि फाइनलको यात्रा रोकियो  ।

केराबारी गाउँपालिकाको सहयोग र कुसुमे साइनिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले ५१ हजार नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेताले ३१ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । फाइनल खेल मङ्सिर २६ गते हुने आयोजकले जनाएको छ ।