९ करोडभन्दा बढी ठग्ने ‘घनश्यामलाई पक्राउ गर’ भन्दै फेरि आन्दोलनमा उत्रिए सयभन्दा बढी पिडितहरु

  • ६ पुष २०७६, आईतवार

मोरङको बेलबारीका एक ब्यापारीबाट ठगीमा परेका दुई सय जनाभन्दा बढी ब्यत्तिहरु आन्दोलनमा उत्रन थालेका छन्  ।

बेलबारीका घनश्याम श्रेष्ठले आकर्षक ब्याजको प्रलोभन देखाउँदै ९ करोड बढी रकम ठगेर बेपत्ता भएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् ।
बेलबारी १ सिनेमा हल लाइनमा सुनको पसल गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुसँग ब्याजको लोभ देखाएर  करोडौँ रुपैया लिएका थिए । उनीहरुको रकम फिर्ता नगरी श्रेष्ठ सम्पर्कबिहिन भएपछि यतिबेला पिडितहरु दोस्रोपटक पुन आन्दोलनमा उत्रिएका छन्  । पिडितहरुले श्रेष्ठको घरमै धर्ना दिनुका साथै श्रेष्ठलाई कारबाहीको माग सहित ईलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरूले यसअघि नगरपालिका र प्रहरीमा उजुरी दिइसकेका छन् ।

केही महिना अघि श्रेष्ठ बेलबारीबाट सम्पर्कबिहिन भएपछि पिडितहरुले बेलबारी नगरपालिकामा उजुरी समेत गरेका थिए । त्यसपछि श्रेष्ठले रकम मंसिर मसान्तसम्ममा सबै तिर्ने बाचा गरेपछि  पिडितहरु  चुप लागेका थिए ।

तर मंसिर मसान्तसम्म पैसा फिर्ता  गर्नुको सट्टा ‘म राजाको मान्छे हुँ’ भन्दै बिभिन्न नम्बरबाट पिडितहरुलाई ‘केही गर्न सक्दैनस, म जे पनि गर्छु’ भन्दै धम्की दिन थालेको भन्दै  पिडितहरु निजलाइ पक्राउ र फसेको रकम फिर्ताको माग सहित आन्दोलनमा उत्रिएका हुन् ।

संघर्ष समिति नै बनाएर आन्दोलनमा 

पिडितहरुले मातृका पराजुलीको संयोजकत्वमा पिडित संर्घष समिति समेत गठन गरेका छन् ।

पराजुलीबाट श्रैष्ठले २७ लाख रुपैया लिएका थिए  ।  ब्याज त परको कुरा साँवा रकम समेत डुबेपछि आन्दोलन गर्न बाध्य भएको उनी बताउँछन् । आफुलाई केही दिनयता बिभिन्न धम्की समेत आउन थालेको उनी सुनाउँछन । ‘म पारसको मान्छे, जोगिएर हिँडनु’ जस्ता धम्कीहरु आउन थालेको उनी बताउँछन् ।
त्यस्तै अर्की पिडित कृष्णा भण्डारी श्रेष्ठले ६ लाख बढी ठगी गरेकोले त्यसै बिषयमा घरपरिवारमा दैनिक झगडा हुने गरेको, घर ब्यबहार नै बिग्रिएको र बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउँछिन् । श्रेष्ठले ७ लाख धितोमा राखेको घर ७० लाख रुपैयांँमा  लिलाम भएको र आफनो बिल्लीबाठ भएको अर्की पिडित गीता लिम्बु बताउँछिन् ।

। श्रेष्ठले ठगी गरेका २ सय बढी स्थानीय दुई तिन दिनदेखि श्रेष्ठको घरमा धर्नामा बसेका छन् ।  आफनो रकम फिर्ता नभए चरणबद्ध आदोलन गर्ने उनीहरु बताउँछन् ।
क्यान्सरकी बिरामी समेत ठगीमा
क्यान्सर रोगसँग लडिरहेकी बेलबारी १ की रमा श्रेष्ठ पनि श्रेष्ठबाट ठगिएकी छिन् । उपचार खर्चको अभावमा उनको उपचार समेत रोकिएको छ ।  श्रेष्ठले ब्याजको प्रलोभन देखाएर उनीसँग २ लाख ५० हजार रकम लिएका थिए । पिडित अहिले आन्दोलनमा उत्रिए पनि उनलाई रकम फिर्ताको सट्टा पिडामाथि थप पिडा थपिएको छ । राम्रोसँग बोल्न र हिँडडुल गर्न नै नसक्ने उनी पनि पैसा उठ्ने आशमा उनी आन्दोलनमा होमिएकी छिन् ।
वालवालिकाको पढाइ खर्च पनि हत्याए 
नेपाली सेनाले हत्या गरेकी बेलबारीकी सपना गुरुङको छोराछोरीको पढाई खर्चका लागि राज्यले दिएको रकम समेत श्रेष्ठले बिभिन्न प्रलोभन देखाएर लिएका छन् ।

राम्रो ब्याज दिने प्रलोभनमा उनले ५ लाख रकम लिएको र बर्षौ बित्दा समेत फिर्ता नगरेको सपनाकी आमा शोभा गुरुङले बताईन् ।

यी त भए ठगीमा परेका केही प्रतिनिधि घटना । श्रेष्ठले श्रीमान बैदेशिक रोजगारीमा रहेकाहरुको घरमा पनि ठगेका कारण धेरैको घर ब्यबहार समेत बिग्रिएको छ ।  श्रेष्ठले ठगेकै कारण कतिपय मानिसहरु घरबार बिहिन नैै बनेका छन्  ।  प्रस्तावित उद्योग बाणिजय संघ बेलबारीका उपाध्यक्ष केदार अधिकारी ठगीमा परेकाहरुलाई न्याय दिलाउन संघले सकेसम्म सहयोग गर्ने बताउँछन् ।

यो पनि …..

गर्नु गर्यौ घनश्याम तिम्ले ठगेर, दुनियाँको बिजोग भो कता गयौ तिमी भागेर ?